आइएमएफले नेपालसहित २५ देशलाई भन्यो, ‘दुई वर्ष हाम्रो ऋणको चिन्ता नगर्नु’
काठमाडौं, २ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालसहित २५ देशलाई आगामी दुई वर्षका लागि ऋणको साँवाब्याज भुक्तानी माफी दिएको छ । प्रारम्भिक चरणमा ६ महिना भनिएपनि आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिएभाले दुई वर्षका लागि ५० करोड अमेरिकी डलर बराबरको विपद् रोकथाम कोष खर्च गरेर यी देशलाई ऋण भुक्तानी माफी दिएको बताएकी छिन् । कोरोना महामारीका कारण लम्बिदों संकटको परिप्रेक्ष्यमा आइएमएफले न्यून आय भएका मुलुकलाई सहयोग गरेको हो ।
नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, डोमिनिक गणतन्त्र, गाम्बिया, गुयेना, गुयेना–बिसाउ, हाइटी, लाइबेरिया, मदास्कार, मालावी, मोजाम्बिक, नाइजर, रुवाण्डा, साओटोमी, सिरिया लिओन, सोलोमोन आइल्याण्ड, ताजिकिस्तान, तोगो, र यमनले यस्तो सुविधा पाएक हुन् ।
नेपालले आइएमएफसँग १० अर्ब भन्दा कम सहयोग लिएको बताइन्छ । आइएमएफको क्याटसट्रफी कन्टेनमेन्ट एण्ड रिलिफ ट्रष्टमा परिमार्जन् मार्फत् ५० करोड डलर परिचालन गरी आगामी दुई वर्षका लागि न्यून आय भएका र गरिब राष्ट्रलाई ऋणको साँवाब्याज भुक्तानी गर्नु नपर्ने सुविधा दिन लागिएको प्रबन्ध निर्देशकको भनाइ छ । संकटको समयमा विपन्न राष्ट्रले दुर्लभ स्रोतलाई आपत्कालीन स्वास्थ्य सामग्री तथा राहतका कार्यक्रममा लगाउन सकून भनेर यस्तो सुविधा दिएको आइएमएफकी प्रबन्ध निर्देशकको वक्तव्यमा उल्लेख छ ।
क्याटसट्रफी कन्टेनमेन्ट एण्ड रिलिफ ट्रष्टबाट अहिले ५० करोड अमेरिकी डलर ऋण भुक्तानीको अवधि पुनर्तालिकीकरण गर्ने उद्देश्यले उपयाग गरिन लागेको हो । यो कोषमा बेलायतको १८ करोड ५० लाख र जापानको १० करोड डलर रहेको छ । चीन र द नेदरल्याण्डस्ले पनि सहयोगको प्रतिवद्धता गरेका छन् । आइएमएफ प्रबन्ध निर्देशक जर्जिएभाले खर्च गरिन लागेको कोषलाई पूर्ति गर्नकालागि अन्य दातृ निकायलाई अनुरोध गरेकी छिन् ।