न्यूनतम ३०० रुपैयाँमै परिवारको कोभिड–१९ बीमा
काठमाडौं, ४ वैशाख । महामारीका रुपमा फैलिएको घातक रोग कोरोना भाइरस डिजिज (कोभिड–१९) को बीमा हुने भएको छ । बीमा समितिले आज परिपत्र मार्फत् जारी गरी निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख जारी गर्न निर्देशन दिएको छ । उनीहरुले बीमा पुलमार्फत् बीमा समितिले तोकेको विशेषता अनुसारको बीमा लेख जारी गर्नुपर्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
कोभिड–१९ को घातक रोग सरहको बीमा गर्नुपर्नेछ । एक लाख बीमांकको बीमा गर्दा प्रिमियम (बीमा शुल्क) व्यक्तिको हकमा १ हजार र परिवारको सम्पूर्णको बीमा गर्दा प्रत्येक सदस्यको ६०० रुपैयाँ प्रिमियम कायम गर्नुपर्नेछ । त्यस्तै, ५० हजार रुपैयाँ बीमांकको बीमा गर्दा भने प्रति व्यक्ति ५०० र सम्पूर्ण परिवारको भए प्रति सदस्य ३०० रुपैयाँ बीमाशुल्क कायम गर्नुपर्ने बीमा समितिको निर्देशनमा उल्लेछ ।
बीमा दाबीका लागि १५ दिनसम्म प्रतिक्षा अवधि रहने बीमा समितिको निर्देशनमा उल्लेख गरेको छ । कोरोना भाइरस पुष्टी हुने पोलिमरेज चेन रियाक्सन (पीसीआर) परिक्षण पोजिटीभ भए दाबी योग्य हुने जनाएको छ । कोभिड–१९ बीमाको व्यवस्थापन लघु बीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत् गर्ने समितिले उल्लेख गरेको छ । यसको बीमा लेख जारी गर्दा कृषि तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लाहरुमा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ ।