कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ स्थापना
हेटौंडा, ५ वैशाख । बागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई परेको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो । कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्तिलगायत काममा समस्या उत्पन्न भइरहेको कारण त्यसलाई समाधान गर्न कल सेन्टर स्थापना गरी सहजीकरणको काम शुरु गरिएको मन्त्रालयले जनाएको छ ।
अब कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, पराल आदिको ओसारपोसारमा अवरोध भए वा कुनै पनि प्रकारको समस्या परे कल सेन्टरमा फोन गरेर सहयोग लिन सकिने मन्त्रतालयका सचिव डाक्टर योगेन्द्र कार्कीले जानकारी दिए । लकडाउनमा कृषि उपजको आपूर्तिलाई नियमित गरिएन भने आगामी दिनमा झन ठूलो समस्या आउने भएकोले कल सेन्टर शुरु गरेर प्रदेशका १३ वटै जिल्लामा सहजीकरण प्रारम्भ गरिएको मन्त्रालयका पशु विकास अधिकृत डाक्टर आभाष कोइरालाले बताए ।