Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्वास्थ्य र स्वच्छताको क्षेत्रमा प्रविधिको उपयोग बढाउन जोड

स्वास्थ्य र स्वच्छताको क्षेत्रमा प्रविधिको उपयोग बढाउन जोड

काठमाडौं, ५ वैशाख । खानेपानी, सरसफाइ, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले कोभिड–१९को जोखिमबाट बच्न जारी बन्दाबन्दी (लकडाउन)मा प्रविधिको उपयोग गरिनुपर्नेमा जोड दिएका छन् । स्मार्ट वास सोलुसन्स प्रालिको आयोजनामा भएको यस क्षेत्रका विज्ञहरूको भिडियो सम्मेलनका वक्ता तथा सहभागीले मानिसको बाँच्ने अधिकारसँग जोडिएको र संविधानले मौलिक हकमा समावेश गरेको स्वच्छ र शुद्ध खानेपानी सेवा पूर्ववत् रूपमा जारी राख्न प्रविधिको उपयोगमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएका हुन् ।
यस क्षेत्रको नेतृत्व लिने व्यक्तित्वको अभाव रहेकाले पर्याप्त मात्रामा पानीको आपूर्ति हुन नसकेको उनीहरूको ठम्याइ थियो । छलफलमा स्रोतव्यक्तिको रूपमा उपस्थित एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सिलका सल्लाहकार डा. विन्दुनाथ लोहनीले सबैले आफूलाई चाहिएजति गुणस्तरीय पानी पाउने वातावरण सुनिश्चित भएपछि मात्र यस क्षेत्रको नेतृत्व सफल हुने बताए ।
खानेपानीमा प्रविधि प्रवद्र्धनमा संलग्न मङ्गेशलाल श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको सङ्कटले प्रविधिको विकास, विस्तार र उपयोगको अवसर सृजना भएको बताए । खानेपानी विज्ञ डा. दिनेश मानन्धरले भाइरसबाट बच्न एकापसको दूरी कम गर्नुपर्ने भएकाले खानेपानी र सरसफाइ क्षेत्रमा सूचना, सञ्चार र प्रविधिको व्यापक प्रयोग बढाउनुपर्ने अवसर आएको धारणा राखे ।
पूर्वसचिव इञ्जिनीयर किशोर थापाले सङ्कटले खानेपानीको उपलब्धता, आपूर्ति र गुणस्तरबारे सोच्न सबै तहका सरकारलाई बाध्य बनाएको बताए । कम पानीबाट हात धुने प्रविधि विकास गर्न र पानीबाट सर्ने रोगबाट आम नागरिकलाई जोगाउन सचेतना आवशयक रहेको सहभागीको माग थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x