कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजारभन्दा बढी संक्रमित
काठमाडौं, ७ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन् । नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।