Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘अत्यावश्यक उद्योग सञ्चालनमा उच्च सतर्कता अपनाइएको छ’

‘अत्यावश्यक उद्योग सञ्चालनमा उच्च सतर्कता अपनाइएको छ’

काठमाडौं, ८ वैशाख । यतिबेला सर्वत्र कोरोनाको त्रास भए पनि अत्यावश्यक खाद्य सामग्री र औषधिका उद्योग एवं पसलहरू उच्च सतर्कताका साथ सञ्चालन गरिएको बताइएको छ । उद्योग मन्त्रालयको सहयोगमा अत्यावश्यक पर्ने खाद्यान्नका उद्योग र औषधिका उद्योग सञ्चालन गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताएकी छिन् ।
कोरोना भाइरसको त्रासले सम्पूर्ण उद्योग तथा कलकारखाना बन्द अवस्थामा भए पनि दैनिक उपभोग्य वस्तुलाई महासंघले नरोक्न निर्देशन दिएको अध्यक्ष राणाले अर्थको अर्थलाई जानकारी दिएकी हुन् । त्यस्तै अहिलेको अवस्थामा उद्योगीहरूले नाफा र घाटालाई नहेरी कोरोनाको महामारीबाट कसरी बाहिर निस्कने भन्ने बारेमा सोच्नुपर्ने उनको भनाइ छ ।
सरकारले लगाएको लकडाउनले उद्योग क्षेत्रको आर्थिक स्थिति धराशयी बनेको भन्दै उनले सरकारले आफ्नो अर्थतन्त्रले धान्न सक्ने राहत प्याकेज ल्याउनुपर्ने र उद्योगलाई दीर्घजीवन दिनुपर्नेमा अध्यक्ष राणाले जोड दिएकी छिन् । ‘नेपालको अर्थतन्त्र सानो छ,’ उनले भनिन्, ‘अन्य देशले ल्याएको राहत प्याकेज जस्तो भन्दा पनि सरकारले आफ्नो अर्थतन्त्रले धान्न सक्ने राहत प्याकेज ल्याएर उद्योग धन्दालाई बचाउनुपर्ने आवश्यकता छ ।’
उद्योग तथा कलकारखानालाई अहिलेको समस्या बैंकको व्याज र श्रमिकको तलब भएको उनको भनाइ छ । सरकारलाई महासंघको तर्फबाट यी कुराको जानकारी गराइएको भन्दै उनले त्यसमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंक सकारात्मक बनेकाले उद्योगलाई आवश्यक राहत आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताइन् । यस्तै यो बन्द अवस्थाको विद्युत्को महशुल मिनाहा गरिदिन पनि सरकारलाई आग्रह गरिएको उनको उनले जानकारी दिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x