Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

२० प्रतिशतले रेमिट्यान्समा गिरावट आउने

२० प्रतिशतले रेमिट्यान्समा गिरावट आउने

काठमाडौं, ११ वैशाख । विश्व बैंकले विश्वभरी नै रेमिट्यान्सका माध्यमबाट हुने पुँजी प्रवाहमा गिरावट आउने उल्लेख गरेको छ । कोरोना महामारीका कारण यो वर्ष २० प्रतिशतले रेमिट्यान्समा गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ । अहिले विश्वमा ७०० अर्ब अमेरिकी डलर बराबरको पुँजी प्रवाह रेमिट्यान्समार्फत् हुँदै आएको छ । यसले नेपाल जस्ता रेमिट्यान्समा अधिक निर्भर मुलुकहरुलाई दबाब पर्नेछ ।
नेपालमा रेमिट्यान्स आउने खाडी मुलुकहरुको अर्थतन्त्र कोरोनाका कारण समस्यामा छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आइरहेको छ । यसले नेपाली कामदारलाई प्रत्यक्ष रुपमा मार पार्नेछ । कोरोनाको विश्वव्यापी महामारीले वैदेशिक रोजगार क्षेत्र संकटमा परेपछि नेपालको विप्रेषण आप्रवाहमा पनि ठूलो धक्का लागेको छ । नेपालका प्रमुख श्रम गन्तव्य मुलुकहरू कोरोनाको प्रकोपले गुज्रिएपछि कयौं नेपाली कामविहीन भएका छन् भने उनीहरूको आम्दानी समेत घटेको छ । सोही सोझो असर देशको रेमिट्यान्समा परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार चालू आवमा कोरोनाले सिर्जना गरेको संकटकै कारण विप्रेषण आप्रवाह ८ खर्ब पनि नपुग्ने अवस्था आएको छ ।
उनका अनुसार चालू आवको ५ महीनामा ५ खर्ब ८२ अर्ब विप्रेषण आएको छ । हालसम्मको अवस्था हेर्दा गतवर्षको तुलनामा १० प्रतिशतको हाराहारीमा विप्रेषण घट्ने अनुमान गरिएको छ ।
सरकारले फागुनदेखि श्रम स्वीकृति बन्द गरेपछि चैत महीनादेखि नै कामदारहरू विदेश जान पाएका छैनन् । एकातिर नयाँ कामदार विदेश जान नपाएको र विदेशमा भएकाहरूको समेत रोजगारी प्रभावित भएकाले विप्रेषण आप्रवाहमा ह्रास आएको हो ।
नेपाली कामदार बढी रहेका कतार, साउदी अरब, कुवेतजस्ता देशमा कोरोनाका कारण औद्योगिक गतिविधि घटेका छन् भने सेवाक्षेत्र समेत ठप्पप्रायः छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले समेत यी मुलुकको आर्थिक वृद्धिदर नकारात्मक हुने प्रक्षेपण गरेको छ । यसको असर त्यहाँको रोजगार क्षेत्रमा पर्ने भएकाले चालू आवमा विप्रेषणको आप्रवाहको अनुमानित लक्ष्य हासिल नहुने भएको छ ।
चालू आवको अन्त्यसम्म रू। ९ खर्ब बराबरको विप्रेषण भित्रने अनुमान गरिएको थियो । सामान्य अवस्था रहेको भए विप्रेषण आय ५ प्रतिशत बढ्ने प्रक्षेपण समेत थियो । तर अहिलेको अवस्था सामान्य नबने वा झन् जटिल बनेमा विप्रेषण घट्ने मात्र नभई वैदेशिक रोजगारमा गएका लाखौं नेपाली स्वदेश फर्किनुपर्ने अवस्था आउने र यसको चाप नेपालको रोजगार बजारले थेग्न नसक्ने विश्लेषण अर्थविद्हरूले गरेका छन् । विश्वका विभिन्न श्रम गन्तव्यमा करीब ५० लाख बढी नेपाली कामदार रहेको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x