Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राजनैतिक अर्थशास्त्रको आँखीझ्यालबाट नेपाल र कोरोना

राजनैतिक अर्थशास्त्रको आँखीझ्यालबाट नेपाल र कोरोना

हाल कोरोना भाइरसको महामारीले मानव सभ्यतालाई चुनौती दिँदै एक्काइसौं शताब्दीको अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय संकटका रूपमा देखापरेको छ । सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरु भएको यो रोगको संक्रमण सन् २०२० को आगमनसँगै विस्तारै फैलन सुरु ग¥यो । त्यसको दुई महिना नबित्दै यसले विश्वमा महामारीको रूप लिएको छ । चीनमा मानिसहरूको धेरै आवतजावत हुने पर्वको समयमा देखापरेको यो रोगको संक्रमण कोरियाली प्रायद्वीप, एसियाली महाद्वीपका अन्य राष्ट्रहरू हँुदै युरोप, अमेरिका लगायत विश्वका अन्य ठाउँहरूमा फैलियो । हालसम्म यो भाइरसले विश्वभर २३ लाखभन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छ भने २ लाखभन्दा बढी मानिसहरूको यो भाइरसको कारणले मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र संघले यो महामारीलाई दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो मानवीय संकटका रूपमा व्याख्या गरेको छ ।

हाल विश्वभरिको स्वास्थ्य क्षेत्रलाई कोरोना नियन्त्रण एउटा चुनौतीको रूपमा खडा भएको छ भने विश्वभरिका स्वास्थ्य अनुसन्धानकर्ताहरू यो भाइरसको औषधि र खोप विकासमा लागेका छन्, जसमा केही सफलता मिले पनि पूूर्णरूपमा औषधि नै निस्कन केही समय लाग्नेछ । त्यसैले मानिसहरू एकआपसमा सामाजिक दूरी कायम गरेर मात्र यस रोगलाई फैलनबाट रोक्न सक्ने तर्क विश्व स्वास्थ्य संगठनले राखेको छ । सोही अनुरूप धेरै मुलुकहरूले कोरोना भाइरस फैलनबाट रोक्न लकडाउनको अस्त्र प्रयोग गरेका छन् । विश्व मानव सभ्यताले यो त्रासदी अरू धेरै समय भोग्नुपर्नेमा दुई मत छैन, जसले गर्दा विश्व अर्थतन्त्रलाई नराम्रो प्रभाव पार्ने देखिन्छ । यसले मुख्यतः भूमिहीन कृषक, दैनिक ज्यालादारीमा काम गर्ने कामदार र अनौपचारिक क्षेत्रका मजदुरहरूलाई नराम्रोसँग असर गरको छ भने गरिबीतिर धकेलिने सबैभन्दा पहिलो व्यक्तिहरू पनि यिनै वर्गका मानिसहरू हुनेछन् । तर, कोरोनाको प्रकोप लम्बिँदै गयो भने यसले निम्न मध्यम वर्ग हुँदै अरूलाई पनि विस्तारै प्रभाव पार्दै जाने निश्चित छ ।

कोरोना नियन्त्रणका लागि दक्षिण एसिया जस्तो स्वास्थ्यमा खासै सुधार नभएको र जनघनत्वको हिसाबले पनि खतरनाक क्षेत्रमा रहेका धेरैजसो देशहरूले अत्यावश्यक बाहेक अरू सम्पूर्ण कामकाजलाई पूर्णरूपले बन्द गरेको छ, जसले गर्दा यहाँको आर्थिक स्थिति खस्कने प्रारम्भिक संकेतहरू देखा पर्न थालिसकेको छ । उता, यूरोप र अमेरिका महाद्वीपका धेरैजसो राष्ट्रहरूमा भने पूर्णकालीन बन्द नगरी आंशिक रूपमा बन्द गरिएको छ । हाल मुख्य मुद्दा नै जोखिम मोलेर नै लकडाउनलाई खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउने कि नबनाउने भन्नेमा छ । यही द्विविधाका बीच संयुक्त राज्य अमेरिकादेखि लिएर इटाली, स्पेन, फ्रान्स, संयुक्त अधिराज्य लगायत विश्वका अरू धेरै देशहरूलाई यो महामारी नियन्त्रण गर्न हम्मे हम्मे परिराखेको छ । तर, दक्षिण कोरिया र ताइवान जस्ता मुलुकहरूले आफ्नो स्रोत, साधन र संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी मास टे«सिङ र परीक्षण गरी सम्भावितलाई क्वारेन्टाइन र आइसोलेसनमा राखी संक्रमितलाई उपचार गरेकोले महामारी फैलनबाट रोक्न धेरै सफल भएको छ, जसले गर्दा विश्वभर यी देशहरूको तारिफ भएको छ । यी दुई मुलुकहरूले सूचना आदानप्रदानमा निकै व्यापकता ल्याई जनउत्तरदायित्वको भावनालाई अगाडि सारी रोग नियन्त्रणमा सफलता हासिल गरे, जुन कुरा अन्य पश्चिमा मुलुकहरू पछि परे भनी अन्तर्राष्ट्रिय समाचार माध्यमले तर्क गर्ने गरेका छन् ।

दक्षिण कोरियाले त विश्वमा फैलिएको महामारीलाई नियन्त्रित राखेर आम चुनाव गरी महामारीबीच उभ्रेको प्रजातन्त्रको संज्ञा पएको छ । हुन त, चीनले पनि आफू कहाँबाट फैलेको महामारीलाई आफ्नो देशमा निकै छोटो समयमा नियन्त्रणमा लिई जनस्वास्थ्यमा देखाएको परिपक्वताको सराहना गर्नैपर्छ । तर पश्चिमा मुलुकहरू यो कुरालाई मान्न तयार छैनन् । पश्चिमा मुलुकहरूले चीनले यो भाइरसको संकेत समयमै सूचित नगरेकाले विश्व महामारीको रूप लिएको भनी दोष लगाएका छन् भने विश्व स्वास्थ्य संगठनलाई पनि यो भाइरसको विषयमा सत्यतथ्य समयमा नै बाहिर नल्याई विश्वलाई नै भ्रममा राखेको भनी दोष लगाएका छन् । उता, चीनले भने त्यसको प्रतिकार गर्दै कोरोना भाइरस संयुक्त राज्य अमेरिकाको सैनिकहरूले चीनमा ल्याई संक्रमण फैलाएको भनी तर्क गरेका थिए । योसँगै यस्तो महामारीको समय राजनैतिक शक्ति राष्ट्रहरू एकले अर्कोलाई दोष लगाउनुभन्दा मानवीय पक्षमा बढी केन्द्रित हुनुपर्ने दृष्टिकोण पनि अगाडि आइराखेको छ । तर विश्व अर्थ राजनीतिमा यस्तो शक्ति संघर्ष थामिएको इतिहास कमै मात्र छ । हालाकि महामारीले पार्ने मानवीय प्रभावले गरिब धनी भन्दैन भन्ने कुरा हालको कोरोना महामारीले मात्र होइन, योभन्दा अघिका धेरै महामारीले देखाइसके तर विकसित र निम्न विकसित मुलुकहरूबीच रहेको साधन र स्रोतको असन्तुलनले गर्दा कोरोना जस्तो महामारीले के कस्तो बहुआयामिक अर्थ राजनैतिक प्रभाव पर्छ भन्ने जनचासोको विषय बनेको छ ।

नेपाल जस्तो विकासोन्मुख देशलाई कोरोना लगायत अरू महामारीसँग लड्नु आफैमा एउटा ठूलो चुनौतीको विषय रहेको छ । आगामी दिनहरूमा पनि यस्तो प्रतिकूल प्रभाव पार्ने खालको विश्वव्यापी विपत् आएमा नेपाल जस्तै विकासोन्मुख देशहरू धेरै जोखिममा रहेका छन् । निकै धेरै राजनीतिक आरोह र अवरोहरू देखिसकेको नेपालले सोहीबीच आफ्नो माटो सुहाउँदो विकासको अवधारणा ल्याउन नसक्नु आफैमा एउटा विडम्बना हो । यसतर्फ नेपालको राजनीतिक नेतृत्व गर्ने वर्गले न राम्रोसँग सोचेका छन्, न त यसमा चासो नै देखाएका छन् । यदाकदा नेपालमा राजनैतिक क्रान्ति सकियो, अबको बाटो विकासको क्रान्तिको भन्ने राजनैतिक वक्तव्य दिनुबाहेक खासै देशको बारेमा सोचेको देखिँदैन । मुख्यतः आ–आफ्नो शक्ति केन्द्रलाई बलियो बनाउन लागिपरेका राजनैतिक वर्गलाई हालको कोरोना महामारीले रनभुल्ल पारी दिएको छ । कोरोना नियन्त्रणका लागि चाहिने स्वास्थ्य साम्रगीहरूको व्यवस्थापनदेखि लिएर टे«सिङ, परीक्षण, क्वारेन्टाइन र आइसोलेसन जस्ता कोरोना सम्बन्धित अन्य पक्षहरूको व्यवस्थापन त परै जाओस्, उल्टो नेपालमा स्वास्थ्य संस्थाहरूको बेथितीलाई छर्लंग पारेको छ हालको कोरोना महामारीले । राहत वितरणमा उही पुरानो राजनैतिक भागबन्डाको गन्ध छ भनी पत्रपत्रिकाहरूले समाचार प्रकाशन गरेका छन् भने गरिब उन्मुख दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरू एक छाक खाना खान नपाएर लामो दूरी पैलल हिँडेर आफ्नो घर फर्किन बाध्य छन् । विपद् व्यवस्थापन सम्बन्धित सरकारभित्र रहेका संयत्रले के कसरी काम गरिराखेको छ भन्नेमा पनि पत्रपत्रिकाहरूले प्रश्न उठाउन थालिसकेका छन् ।

हुन त हाल केही विकसित देशहरूमा देखिएको कोरोना हाहाकारलाई लिएर निकै टीकाटिप्पणी हुने गरेका छन् । त्यहीबीच विकासित देशहरूमा देखिएका केही राजनीतिक संस्कारले अहिले युग एक्काइसौं शताब्दीको हो भनी सोच्न बाध्य तुल्याएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या यूरोप अमेरिकामा दिन दुगना रात चौगुना बढ्न थालेसँगै केही राजनीतिक नेतृत्व वर्गले यस सम्बन्धमा गरेको अशोभनीय अभिव्यक्तिले यो एक्काइसौं शताब्दीको विकासले विश्वलाई कहाँ लग्ने हो भनी सोच्न बाध्य गरेको छ । वास्तविकता यही रहे पनि विकसित देशहरूले साधन र स्रोतमा निपुण भएकाले विभिन्न वैकल्पिक योजना बनाई यो स्थिति लम्बिए वा अझ धेरै प्रतिकूल असर परे कसरी अगाडि बढ्ने भन्नेतिर ध्यान केन्द्रित गरेर काम गरिरहनुको साथै आफ्नो देशमा कोरोना प्रभाव कम गर्न शक्ति संघर्ष पनि शुरु गरेको छ र केही केही लुछाचुँडी पनि सुरु भइसक्यो । यस्तो मानवीय संवेदनशील परिस्थितिमा सो तरिकाको कार्यलाई विश्व सभ्यताले कसरी हेर्छ, त्यो भविष्यमा विश्लेषण गर्ने कुरा रहेको छ ।

हामी सबैले बुझेका छौं कि विश्व इतिहासका लागि महामारी नौलो होइन, तर समयको अन्तरालपछि फैलने भएको ले नयाँ पुस्ताका लागि यो कहिल्यै नभोगेको नौलो चीज हुन जान्छ, जसरी हाल हामीलाई भइराखेको छ । तर हरेक महामारीले एउटा पाठ सिकाएर गएको हुन्छ, जसका केही कुराको सम्झना हुन्छ, केहीको हुँदैन । पौराणिक कालदेखि विभिन्न समयको अन्तरालमा फैलेको प्लेग चौधौं शताब्दीको मध्यतिर ठूलो महामारीको रूपमा फैलियो र त्यस महामारीले युरोपको इतिहासमा एउटा काल खण्डको अन्त्य गरी नौलो युग सुरु गर्न ठूलो भूमिका खेल्यो भनि इतिहासकारले विश्लेषण गरेका छन् । बीसको दशकको स्पेनिश लु र पछि पत्ता लागेको एच.आई.भि. एड्सले मानव सभ्यतालाई धेरै वर्ष त्रसित बनायो । इतिहासका यी यस्ता पाटाहरूलाई पाठ्यपुस्तमा राखिने भए तापनि यस्ता विषम परिस्थितिका कटु यथार्थलाई मानिसहरू निकै चाँडै बिर्सने गरेको तर्क दिन्छन् विपद् व्यवस्थापनदेखि लिएर वातावरणमा काम गर्ने विद्हरू । जस्तै– हाल काठमाडौं उपत्यकाका नेवार समुदायकाबीच रणबहादुर शाहको समयको बिफर महामारीको निकै चर्चा हुने गरेको छ । तर स्थिति अलि स्थिर भयो भने सो कुरा शिथिल भएर जान्छ । भूकम्पको पनि नेपालीबीच यस्तै समय मात्र चर्चा हुने गर्छ ।

कोरोना महामारीले नेपालमा सरकारको नेतृत्व गरी राखेको दल मात्र नभएर सम्पूर्ण राजनैतिक वर्गलाई नै रनभुल्लमा पारेको छ । किनकि यो महामारी यसको नियन्त्रणसँग मात्र सम्बन्धित नभएर यसको बहुआयामिक अर्थ राजनैतिक प्रभावसँग पनि सम्वन्धित छ । व्यवस्थित लकडाउन र स्वास्थ्य संयत्रको अथक प्रयासले कोरोना धेरै हद नियन्त्रण त हुन्छ । तर देशको सामाजिक आर्थिक गतिविधि थप्प छ, जसका दुरगामी प्रभावहरू छन् । नेपालमा आर्थिक संकेत र सामाजिक अस्थिरता आउन सक्ने केही प्रारम्भिक संकेतहरू देखापरेका छन् । यसका केही उदाहरणहरू, जस्तै– पर्यटन फेरि पहिलाको स्थितिमा आउन समय लाग्छ भने तेस्रो मुलुकको निर्यात व्यापारले गति लिन्छ, लिँदैन भन्ने अवस्था छैन । त्यस्तै बेरोजगारलाई समयमै आर्थिक क्रियाकलापमा लगाउन सकिएन र विदेशी रोजगारी गुमेकाहरूको उचित व्यवस्थापन गरिदिन सकिएन भने यसले आर्थिक लगायत सामाजिक असुन्तलन निम्त्याउँछ । सरकारले कोरोनाबाट पर्ने दूरगामी प्रभावहरूको सही तरिकाले अध्ययन गरी आउँदा वर्षहरूको लागि अल्पकालीन र दीर्घकालीन नीति तथा योजनाको निर्माण गर्नुपर्छ । कोरोना महामारीले विश्व अर्थ राजनीतिमा ल्याएको हलचलबाट नेपाललाई अवसर र खतरा दुवै छ । विश्व शक्ति राष्ट्रहरू मुख्य त आफ्नो स्रोत र साधन परिचालन गरी आफू अनुकूल विकास अवधारणाहरू अगाडि सारी शक्ति संघर्षमा होमिएका छन् । विशेषतः दोस्रो विश्व युद्धपछि आएको विकासको अवधारणा यसरी नै अगाडि बढिराखेको छ । यस विकासको राजनीतिमा जुन देशले आफ्नो माटो सुहाउँदोे आफ्नै विकासको अवधारणा अघि ल्याउँछ, सो देशको नीति निर्माणदेखि लिएर योजनाको काममा विश्व शक्ति राष्ट्रहरूको बोलवाला अलि कम छ । तर जुन देशले आफ्नो माटो सुहाउँदोे आफ्नै विकासको अवधारणा ल्याउँदैन, सो देशमा विश्व शक्ति राष्ट्रहरू हावी हुन्छन् । दुःखको कुरा त के छ भने नेपालले पनि आफ्नो माटो सुहाउँदोे आफ्नै विकासको अवधारणा अगाडि ल्याउन सकेको छैन । गत केही वर्षदेखि सुरु भएको व्यापार युद्धसँगै देखापरेको कोरोना महामारीले दुई ठूला विश्व शक्ति समूहहरूबीच आफू अनुकूल अवधारणा अगाडि ल्याई शक्ति संघर्ष गर्ने निश्चित छ । एउटा शक्ति समूह, जसले आफूलाई विगतमा विकासको पर्याय ठानेका थिए । हाल आफ्ना मानिसलाई कोरोनाबाट बचाउन नसकेर लज्जित छन् । आफूलाई व्यक्ति स्वतन्त्रताको प्रतीक ठान्ने यी राष्ट्रहरू आपत्कालमा आफ्ना नागरिकहरूलाई जन–उत्तरदायित्वको बोध गराउनबाट चुकेका छन् । यी राष्ट्रहरूलाई अब उनीहरूको विकासको मोडलमा प्रश्न गर्न सक्ने प्रशस्त ठाउँहरू छन् । उता, नयाँ आर्थिक शक्ति भनेर उभ्रेर आएको अर्को शक्ति समूहलाई सबैले यो महामारी फैलाएको दोष लगाएको छ । नियन्त्रित राज्य व्यवस्थाबीच बजार अर्थतन्त्रलाई समाहित गरेर शक्ति राष्ट्र बनेको संज्ञा पाए पनि यी दुवै एक अर्काको पर्याय बनेर धेरै बस्न सक्दैन भन्ने कुरा यो महामारीले प्रमाणित गरेको छ । यी दुई विश्व शक्ति समूहहरू लज्जित त छन् तर थकित पनि छैनन्, गलित पनि छैनन् । त्यसैले यी दुई शक्ति समूहहरू आफ्ना गल्तीहरूलाई लुकाई आफू अनुकूल अवधारणा झन् धेरै लाडेर झन् धेरै शक्ति संघर्षमा होमिन्छन् । नेपाल जस्तो आफ्नै विकास अवधारणा अगाडि ल्याउन नसक्ने देशमा यी शक्ति समूहहरू झन् धेरै हावी हुन्छन् ।

त्यसैले नेपालको नेतृत्व वर्ग राजनीतिक नारामा मात्र सीमित नरही देश विकासको अवधारणाको काममा लाग्न पनि जरुरी छ, जसले गर्दा कोरोना भाइरसको प्रतिकूल असर र यसले जन्माएको विश्व अर्थ राजनीतिबाट नेपाल माथि उठ्न सकून् । स्मरण रहोस्, सन् १९६० र १९७० दशकको शीतयुद्ध ताकाका नेपालका शासक वर्गले पनि विश्व अर्थ राजनीतिभन्दा माथि उठेर काम गर्नुको साटो राजनैतिक नारामा मात्र सीमित हुँदा आज सो शासक वर्गको के हविगत भयो ? जनतालाइ सर्वोपरि राखी काम गर्नु सरकारको दायित्व हो, जुन कुरा कोरोना प्रकोपले अझ धेरै उजागर गरिदिएको छ । धेरै विकसित मुलुकहरूले कोरोना महामारीको समय जनहितमा गरेको साधारण खेलाँचीले आज विश्वको हविगत कस्तो छ, सबैले देखेका नै छन् । नेताका राजनैतिक नाराले थकित नेपाली जनता कोरोना महामारीले त्रसित पनि छन् । त्यसैले राजनैतिक वर्गले नेपाली जनताको विकासको मार्ग पहिल्याउन जरुरी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x