Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजस्व बढाउनुपर्ने दबाबमा सरकार, भन्सार नाकामा कडाइ गरिँदै

राजस्व बढाउनुपर्ने दबाबमा सरकार, भन्सार नाकामा कडाइ गरिँदै

काठमाडौं, १७ वैशाख । कोरोना भाइरसको प्रकोपका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि सरकार राजस्व बढाउनुपर्ने दबाबमा रहेको छ । कोरोना संकटले निम्त्याएको आर्थिक क्षति पुनःस्थापनाका लागि राजस्व बढाउन भन्सार नाकामा कडाइ गर्ने तयारी सरकारले गरेको छ ।
राजस्व बढाउने सम्बन्धमा हालै अर्थ मन्त्रालयले भन्सार विभागलाई १८बुँदे निर्देशन दिएको छ । साथै राजस्वको निर्धारित लक्ष्य पूरा गर्न वैकल्पिक कार्ययोजना ल्याएर भन्सार सुढृढ बनाउन भनिएको छ । देशका अधिकांश भन्सारले लक्ष्यभन्दा कम राजस्व उठाएको निचोडसहित मन्त्रालयले चालू आवको बाँकी अवधिमा भन्सार कसिलो पार्न निर्देशन दिएको हो ।
बजारमा आयात वस्तुको उपलब्धता पर्याप्त भए तापनि त्यस्ता मालवस्तु वैधानिक तवरले आयात नभएको सरकारी अधिकारीले औंल्याएका छन् । अस्वाभाविक रूपमा आयात घटेका वस्तुको आपूर्ति सहज भएको पाइएमा सम्बन्धित निकायसँगको सहकार्यमा हस्तक्षेपकारी रणनीति लागू गर्न समेत मन्त्रालयले भन्सार विभागलाई निर्देशन दिएको छ । यसको अनुगमन गरी हरेक हप्ता मन्त्रालयलाई जानकारी गराउन पनि भनिएको छ ।
आयात हुने मालवस्तुको घोषणा यथार्थ भएमा राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने मन्त्रालयको अपेक्षा छ । तर मालवस्तुको घोषणा स्पष्ट नगर्ने, ब्रान्ड तथा मोडल नखोल्ने, महँगा ब्रान्डका सामानलाई साधारण भनी घोषणा गर्नेजस्ता गलत प्रवृत्तिले राजस्व कम उठेको ठहर गरिएको छ । वस्तु वर्गीकरण संकेत नम्बरसमेत फरक घोषणा गर्ने गरिएकोले यस्तो कार्य रोक्न समेत भन्सार विभागलाई भनिएको छ ।
यस्तै मालवस्तुको घोषणा स्पष्ट नगराई जाँचपास गर्ने जुनसुकै कर्मचारी भए तापनि निजलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको छ । यस्तै चोरी पैठारीलाई निरुत्साहित गर्न भन्सार कार्यालयमा तैनाथ सुरक्षा संयन्त्रलाई भन्सार कार्यालयको नेतृत्व, रेखदेख र नियन्त्रणमा प्रभावकारी रूपमा परिचालन गर्नसमेत भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x