Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असरबारे अध्ययन शुरू

राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असरबारे अध्ययन शुरू

काठमाडौं, २१ वैशाख । कोरोना र लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरू गरेको छ । आयोगले निर्माणका क्रममा रहेका २१ वटै राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवं समस्याबारे अध्ययन थालेको हो । पछिल्लो पटक सरकारले ४०० केभी क्षमताको नाङ्लेभारे–बुटवल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरू भइसकेको छैन ।
सरकारले कोरोनाको कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मा समेत आयोगलाई दिएको छ । तत्कालीन प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको भए पनि दीर्घकालीन प्रभावका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगलाई जिम्मा दिइएअनुसार नै आफूहरुले श्रव्यदृश्य माध्यमबाट राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारेमा जानकारी लिन थालेको आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलको भनाइ छ । सबै आयोजनाको अवस्थाका बारेमा जानकारी लिने र समस्या समाधानमा सहजीकरण गर्ने उनले बताएका छन् ।
सरकारले गत चैत २० गते निर्माणका क्रममा रहेका आयोजनालाई आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने व्यवस्था गरेको छ । लकडाउनका कारण अधिकांश आयोजनामा निर्माण सामग्री र श्रमिकको अभाव रहेको पाइएको छ । कुल २१ वटा गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोगले निर्माणाधीन आयोजनाको रिपोर्ट लिएर समस्या देखिएकाको हकमा केही सहजीकरण गर्नेतर्फ सोच बनाइएअनुसार नै जानकारी लिन थालिएको बताएको छ । त्यसले समस्या समाधानका लागि पहल गर्न सहज अपेक्षा लिइएको छ ।

निर्माणाधिन आयोजनामा एउटा तहमा काम भइरहेको छ तर अपेक्षित काम भने हुन सकेको छैन । केही आयोजनामा सम्बन्धित मन्त्रालयले नै पहल गरेर पनि काम अगाडि बढाएको छ भने केहीमा सूचना सञ्चारमा अल्योल रहेको पाइएको छ । कोभिड–१९ उच्चस्तरीय समन्वय समितिले पनि पटक–पटक आयोजना सहजीकरणका लागि मार्ग प्रशस्त गरेको छ । निर्माणाधीन आयोजनामा काम नरोकियोस् भनेर समितिले निर्माण सामग्री आपूर्तिमा समेत सहजीकरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x