सूदुरपश्चिम प्रदेशद्वारा बजेटको तयारी शुरु
धनगढी, २१ वैशाख । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट निर्माण तयारीमा जुटेको छ । चालू आर्थिक वर्षमा लक्ष्य अनुरुप आधापनि बजेट खर्च हुने सम्भावना न्युनभए पनि प्रदेश सरकारले ३३ अर्बको बजेट ल्याउँने तयारी थालेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको गत चैत मसान्तसम्म वित्तीय खर्च २१ प्रतिशत मात्रै भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आगामी अर्थिक बर्ष २०७७÷७८ का लागी ३३ अर्ब र त्यो भन्दा बढी बजेट ल्याउँने तयारी भईरहेको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए । यस बर्ष खर्च हुन नसकेको बजेटको बाँकी अंश आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समावेश गर्ने गरी मन्त्रालयले बजेटको तयारीमा जुटेको मन्त्री बोहराले बताए ।
कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण गतिविधिहरु ठप्प हुँदा बजेट खर्च समेत हुन नसकेको मन्त्री बोहोराले बताए । पहिलो र दोस्रो चौमासमा लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको प्रदेश सरकारलाई तेस्रो चौमासमा बजेट खर्च गर्न लकडाउनले झन् समस्या परेको छ । मन्त्रीबोहराले प्रदेशमाकोभिड–१९ ले पारेको असरलाई रिकभर गर्ने गरी बजेटको प्राथमिकता निर्धारण गरिने बताए । उनले स्वास्थ्य, कृषि, रोजगार, सानातथा लघु उद्यम र विकास निर्माण नै प्रदेश सरकारको बजेटको प्राथमिकतामा पर्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको २८ अर्ब १६ करोड बराबरको बजेट मध्ये चैत मसान्तसम्म २१ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख वासुदेव जोशीले हालसम्म चालु तर्फ ३ अर्ब ३३ करोड ४० लाख र पूँजीगततर्फ २ अर्ब ५० करोड २७ लाख रुपैयाँ बजेट खर्च भएको बताए । उनले २८ करोड १६ अर्ब बजेट मध्ये ५ अर्ब ५८ करोड २१ लाख बजेट खर्च भएको बताए ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको ४० देखि ४२ प्रतिशतमात्रै खर्च हुने अनुमान गरेको छ । संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानिकरण र राजश्व बाँडफाँडको बजेट सिलसमेत पठाइसकको छ । सुदूरपश्चिमले संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा आठ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानिकरण र ७ अर्ब ८७ करोड ३६ लाखको राजश्व बाँडफाँडको बजेट पाउने छ ।