इन्फोटेकमा अवलोकर्ताहरुको भिडभाड, आज अन्तिम दिन
काठमाडौं, १६ माघ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलामा हिजो सोमबार पाँचौ दिन ७२ हजार ३२६ जनाले अवलोकन गरेको क्यान महासंघले जनाएको छ । हालसम्म मेलामा २ लाख ९१ हजार ९१७ जनाले अवलोकन गरिसकेका छन् ।
क्यान इन्फोटेकमा यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ । नवीन प्रविधिहरुको प्रदर्शनी एकै थलोबाट भइरहेकोले अवलोकनकर्ताको संख्या बढेको महसुस क्याले गरेको छ ।
जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिव्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् । साथै उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम जारी रहेको छ । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन् । सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक, नेटवर्किङ प्रडक्ट, कम्प्युटर एसेसोरिज, आइटी स्टार्टअपका स्टल देखिएको छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन ।