एनआईसी एशिया बैंकले सबै प्रकारका कर्जामा २ प्रतिशत सहुलियत व्याजसहित थप १० प्रतिशत छुट दिने
काठमाडौं, २२ वैशाख । एनआईसी एशिया बैंकले यही वैशाख मसान्तसम्मको कर्जा भुक्तानी गर्ने ग्राहकको लागि साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना लागु गरेको छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको २ प्रतिशत ब्याज सहुलियतसहित बैंकले सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी उक्त योजना सार्वजनिक गरेको हो ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले जनाएको छ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १०% छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने र बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै ग्राहकका लागि बैंकले सामान खरिद गर्दा इ बैकिङमार्फत् निःशुल्क भुक्तानी गर्न सक्न व्यवस्था गरेको जनाएको छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।
हाल बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालय, ४ सय ६१ एटीएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।