अर्थविद् भन्छन्–अवैध धनलाई बैद्य बनाउन हुदैन

काठमाडौं, १७ माघ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लण्डरिङको विषयले दिएको अभिव्यत्ति यतिबेला निकै चर्चामा छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटको अवसरमा सोमवार अध्यक्ष ओलीले देशमा लगानी गर्नका लागि एक पटक लुकेका धन निकाल्न मनी लण्डरिङको अन्तर्राष्ट्रिय सम्झौतालाई खुकुलो बनाउनु पर्ने खालको अभिव्यक्ति दिएका थिए ।

त्यस विषयलाई लिएर अर्थविद्हरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा अर्थविद डा शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने बताए । ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञ, ब्युरोक्र्याट, गुण्डागर्दी र धम्क्याएर आर्जन गर्नेहरुले छुट पाउने बताए । उनले नेपालमा अहिलेसम्म वैदेशिक लगानीका रुपमा एक सय मिलियन पनि आउन नसकेको गुनासो पोखे । अल्प विकसित अन्य मुलुकमा आईरहेको वैदेशिक लगानीको तुलनामा यो रकम कम भएकाले तीन वर्षमा औषतमा ८ सय मिलियन अमेरिकी डलर बराबरको एफडीआई ल्याउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै अर्थविद् डा डिल्लीराज खनालले पनि अवैध धनलाई बैध गर्ने कुरालाई समान्तर अर्थतन्त्रको संज्ञा दिँदै कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले प्रत्यक्ष वैदेशिक लगानी एकद्धार प्रणालीबाट ल्याउनुपर्ने भन्दै निजी क्षेत्रलाई आकर्षण गर्नेतर्फ लाग्न आग्रह गरेका छन् । पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अनौपचारिक अर्थलाई औपचारिक बनाउनको लागि सरकारले साँच्चिकै गम्भिर पहल लिने हो भने एमाले अध्यक्ष ओलीले बोलेको कुरा स्वागतयोग्य रहेको बताए । उनले भने, ‘परम्रागत रुपमा ७० प्रतिशत नेपालमा अनौपचारिक अर्थतन्त्र छ, यसको लागि एउटा बाटो खोल्नुपर्छ, यदि ओलीले त्यो हिसाबले भनेको हो भने यो स्वागतयोग्य कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *