सूचना प्रविधि क्षेत्रलाई पनि अत्यावश्यक सेवाअन्तर्गत राख्न आग्रह
काठमाडौं, २७ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारले लकडाउनको समयमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै यो क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत समाबेस गर्न आग्रह गरेको छ । शुक्रबार क्यान महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै यो क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत राख्न सञ्चारमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेको हो ।
क्यान महासंघका अध्यक्ष नवराज कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्र पेश गर्न महासचिव नारायण थापा, संस्थापक अध्यक्ष डा. बिमल कुमार शर्मा र क्यान महासंघका प्रबन्धक सुबास पौडेलले मन्त्रालयमा उपस्थित भई मन्त्रालयका सचिव दीपक सुवेदी समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
इण्टरनेट सेवा पहिलेनै अत्यावश्यक सेवामा राखिएको छ ।
यसैअर्तगत अहिले खुला गरिएका उद्योगधन्दाहरुमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग बिभागमा दर्ता भएका सुचना प्रबिधि कम्पनिहरुलाई तत्कालै सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरिएको छ ।
यसैवीच मन्त्रीपरिषदको बैशाख २४ गते बसेको बैठकले बन्दाबन्दीलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने र थप उद्योगधन्दाहरु सुचारु गर्ने निर्णयलाई क्यानले स्वागतयोग्य कदम भनेको छ ।