नेपाली भूमि मिचेर चीन जाड्ने बाटो बनाएकोमा नेपालको आपत्ति, भारतले भन्यो– ‘कोरोनापछि वार्ता गरौंला’
काठमाडौं, २८ वैशाख । दक्षिणी छिमेकी भारतले नेपाली भूमि लिपुलेकको प्रयोग गरेर तिब्बत मानसरोबर जोड्ने सडक निर्माण गरेपछि यसको व्यापक विरोध भइरहेको छ । यसैबीच शनिबार परराष्ट्र मन्त्रालय र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले छुट्टाछुट्टै वक्तव्य जारी गरे । भारतीय दूतावास अगाडि विद्यार्थीहरुले प्रदर्शन गरे । माइतीघर र लैनचौरमा भएको प्रदर्शनमा दजनौं विद्यार्थी पक्राउ परे र उनीहरुलाई नेपाल पुलिस क्लबमा राखेर साँझ छाडिएको छ । यसको विरोधमा पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व आइजीपी ठाकुरमोहन श्रेष्ठ धुम्बाराहीबाट पक्राउ परेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक हुँदै मानसरोबर जोड्ने सडक निर्माण सम्पन्न भएपछि शुक्रबार उक्त सडकको उद्घाट गरेको भन्दै ट्वीट गरेका थिए । त्यसपछि नेपालले भारतले एकपक्षीय रुपमा सडक निर्माण गरेको भन्दै त्यसको विरोध गरेको थियो ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिपछि भारतीय विदेश मन्त्रालयले त्यसबारेमा आफूले जानकारी प्राप्त गरेको र अहिले निर्माण भएको सडक भारतीय भूमिमा नै रहेको बताएको छ । यो क्षेत्र उत्तरखण्ड राज्यको पिथौरागढ इलाकामा पर्ने भारतले उल्लेख गरेको छ । यससम्बन्धमा कोभिड–१९ पछि नेपालसँग वार्ता गर्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
नेपालले लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि रहेकाले त्यहाँबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै आएको छ । कालापानीमा बर्षौंदेखि भारतले नेपाली भूमिमा सैनिक क्याम्प राख्दै आएको छ । नेपालमा महाभूकम्पको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेक हुँदै भारत र चीन जोड्ने सडक निर्माण गर्ने सहमति गरेका थिए । लिपुलेकको नेपाली भूमिलाई भारतले आफ्नो भूमि दाबी गर्दै भारत र चीन बीचको सीमा दाबी गर्दै आएको छ ।
नेपालले केही महिनाअघि लिपुलेक नेपालको भूमि रहेको नक्सा सार्वजनिक गरिसकेको छ भने भारतसँग यस भूमि नेपालको रहेको ‘कुटनीतिक नोट’ पनि पठाइसकेको छ । तर यो विषयलाई लिएर, नेपाल र भारतबीच वार्ता हुन सकेको छैन ।
गत वर्ष भारतले जम्मु कश्मिरको स्वायत्तता खारेज गरेसँगै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी सहित समावेश गरेको थियो । भारतले नेपालको ६२ वर्ग किमी क्षेत्रमा सेनाको क्याम्प वर्षौंदेखि राखिरहेको छ ।
यो विषयमा गत वर्ष नोभेम्बर १४ मा चीनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा उठेको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले नेपालले भारतसँग वार्ता गरेर उक्त विषय सल्टाउनुपर्ने बताएका थिए । नेपाल र चीनबीच सीमा सन्धि सन् १९६१ मा अनुमोदन भएको थियो, त्यसयता चीन र नेपालबीच भने सीमा विवाद छैन । तर चीन र भारतले नेपाली भूमि प्रयोग गर्न सहमति गर्नुले भने संशय पैदा भएको छ ।
नेपालले भारतसँगको सीमा विवादको विषय भने संयुक्त राष्ट्र संघमा समेत प्रवेश गराइसकेको छ । नेपाल सरकारले भारतसँग उच्च राजनीतिक तहमा वार्ता गरी सीमा सम्बन्धि सबै समस्या समाधान गर्न चाहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।