Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चालू आवमा सडक र पुल निर्माण लक्ष्यको ५० प्रतिशत मात्र सकिने

चालू आवमा सडक र पुल निर्माण लक्ष्यको ५० प्रतिशत मात्र सकिने

काठमाडौं, २९ वैशाख । विकास बजेट खर्च हुन नसक्नु नेपालको पुरानै रोग हो । सरोकारवालाहरूले पूँजीगत बजेटको कार्यान्वयनमा जति नै जोड दिए पनि आर्थिक वर्षको अन्त्यतिर मात्र आएर काम गर्ने परिपाटी रहँदै आएको छ । त्यसमाथि कोरोना प्रकोप र लकडाउन कारण अहिले विकास निर्माणका अधिकांश काम रोकिएकाले चालू आवमा पूर्वाधारतर्फको अर्बौं बजेट फ्रिज हुने सम्भावना छ । त्यसमा पनि सडक र पुल निर्माण लक्ष्यको आधा मात्र सम्पन्न हुने अनुमान गरिएको राससमा उल्लेख छ ।

चालु आवमा १ हजार २०० किमी सडक कालोपत्र र ३०० पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महीनासम्म ६३० किमी सडक कालोपत्र र १३२ पुल सम्पन्न भएको छ । अहिले देशभरमा २५० स्थानमा निर्माणको काम भइरहेको सडक विभागले बताएको छ ।
अहिले निर्माणका लागि आवश्यक सामग्रीको उत्पादन र ढुवानी सहज भएसँगै अझै केही स्थानमा निर्माणले गति लिने सम्भावना रहेको सडक विभागको भनाइ छ । मौसम अनुकूल भएमा केही सडक र पुल निर्माण सम्पन्न हुन सक्छ । विभागले दुई साता पहिले नै विभिन्न आयोजनामा निर्माण शुरु गरे पनि आवश्यक सामग्रीको अभावले अपेक्षाअनुसार काम हुन सकिरहेको छैन ।
यो महिनाको शुरुदेखि नै भइरहेको नियमित वर्षाका कारण काममा सहज नभएको विभागले बताएको छ । यद्यपि अहिले उपलब्ध जनशक्ति र उपकरणबाटै निर्माण अघि बढाइरहेको विभागको भनाइ छ ।
विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ ।

विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x