Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भीमफेदी–कुलेखानी सुरुङमार्गलाई जुट्यो लगानीको स्रोत

भीमफेदी–कुलेखानी सुरुङमार्गलाई जुट्यो लगानीको स्रोत

काठमाडौं, ३० वैशाख । सङ्घीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि बाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि लगानीको स्रोत व्यवस्थापन गरेको छ । आयोजनाको कुल लागत रू. १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ ।
बाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीय रुपमा स्रोतको व्यवस्थापन गरिएको हो । प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले यही वैशाख २८ गते आइतवार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको राससमा उल्लेख छ ।
सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमीले छोटिनेछ । बहुवर्षीय योजनालाई आव २०७७÷७८ मा रू. २ अर्ब, २०७८÷७९ मा रू. ६ अर्ब, २०७९÷८० मा रू. ६ अर्ब र २०८०÷८१ मा रू. ४ अर्ब रहने गरी विनियोजन गरिने भएको छ ।
स्रोत सुनिश्चित भएपछि प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने तयारी थालेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको पत्रमा चार आर्थिक वर्षमा खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ । सो परियोजनाका लागि आर्थिक वर्ष २०७७÷७८ देखि आव २०८०÷८१ सम्म खर्च गर्नेगरी स्रोतको व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्श सेवासमेत छनोट गर्ने तयारीमा रहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय गुरुयोजना स्वीकृत गर्नुपूर्व स्रोत सुनिश्चितताका लागि भौतिक पधूर्वाधार विकास मन्त्रालयकै बजेट सिलिङभित्र रहने गरी मात्र प्रदान गरिएको जनाएको छ । सो मन्त्रालयको अन्य कार्यक्रममा पर्ने प्रभावको प्रक्षेपण गर्ने, स्वीकृत भएका बहुवर्षीय योजनाका लागि आगामी वर्षमा मन्त्रालयको सिलिङभित्रै रहने गरी प्राथमिताका साथ बजेट विनियोजन गर्ने र सिलिङभन्दा थप बजेट स्वीकृत नहुने व्यवस्था गरिएको छ ।
भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x