Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चुक्ता पुँजीको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा आर्जन भएन, घट्यो प्रति शेयर आम्दामी

चुक्ता पुँजीको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा आर्जन भएन, घट्यो प्रति शेयर आम्दामी

शमुयल राना मगरं, १८ माघ । हाल संचालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको वित्तीय विवरणहरुको आधारमा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १०.२६ प्रतिशतले खुद मुनाफा आर्जन वृद्धि गरेको छ । यस्तै गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षको समिक्षा अवधिमा वाणिज्य बैंकहरुको खुद मुनाफा आर्जन ४१ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनामा खुद मुनाफा आर्जनमा वृद्धि गरेपनि चुक्ता पुँजीमा आएको वृद्धिको तुलनामा सन्तोषजनक हुन सकेको छ्रन । यता गत आर्थिक वर्षको ६ महिनासम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्व ४३ अर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिसम्म आईपुग्दा २ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ५२ प्रतिशतले बढेको छ । तर समिक्षा अवधिमा वाणिज्य बैंकहरुको खुद मुनाफा आर्जन भने ४१ प्रतिशतले मात्र बढेको छ । यसरी खुद मुनाफा आर्जनको तुलनामा चुक्ता पुँजीमा भएको वृद्धिले वाणिज्य बैंकहरुको प्रति शेयर आम्दामीमा गिरावट आएको छ ।

२ वर्ष अघि नेपाल राष्ट्र बैंकले मौद्रिक नितीमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन जारी गरेको थियो । सो निर्देशन अनुसार वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन भनिएको थियो । चुक्ता पुँजी ८ अर्ब पुर्याउनका लागि वाणिज्य बैंकहरुले गाभ्ने तथा गाभिने, बोनस शेयर, हकप्रद शेयर तथा थप नयाँ शेयर निष्कासनको गरेको थिए । यसरी चालु आर्थिक वर्षको ६ महिनासम्ममा १८ वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । (नोटः केहि बैंकहरुले चालु आ.वको ६ महिना भित्र सम्पन्न गरेको वार्षिक साधारण सभामार्फत प्रस्ताव गरेको बोनस शेयरलाई पुँजीकरण गर्दाको आधारमा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको भनिएको हो ।) यस्तै बाँकी रहेका १० वाणिज्य बैंकहरुले समेत बोनस शेयर, हकप्रद तथा थप नयाँ शेयर निष्कासनबाट यो चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने देखिन्छ ।

वाणिज्य बैंकहरुले यो दुई वर्षको अवधिमा जसरी चुक्ता पुँजीलाई आक्रामक हिसाबले वृद्धि गरे सोहि अनुपातमा खुद मुनाफा आर्जन भने गर्न सकेनन् । चुक्ता पुँजी वृद्धिको अनुपातमा खुद मुनाफा आर्जन वृद्धि गर्न नसकिदा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दामीमा कमी आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार २४ वाणिज्य बैंकहरुको प्रति शेयर आम्दामीमा गिरावट आएको छ । खुद मुनाफालाई कुल शेयर संख्याले भाग गर्दा प्रति शेयर आम्दामी निस्कन्छ । यसरी प्रति शेयर आम्दामीमा आएको कमीका कारण शेयरधनीहरुको मुनाफा आर्जनमा कमी आउने हुन्छ ।

हुन त वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी वृद्धि गरे अनुसार त्यसको प्रतिफल दिनपनि चुनौति नै रहेको छ । निक्षेपको अभावका कारण देखिएको कर्जा संकटको बावजुत पनि वाणिज्य बैंकहरुले मुनाफा आर्जन गरेका छन् । यता बैंकर्सको अनुसार निक्षेप अभावले महंगोमा निक्षेप संकलन गर्दा पुँजीको लागत बढ्न गई यसको असर मुनाफा आर्जनमा देखिएको छ । तर बैंकहरुले कर्जाको व्याजदर समेत वृद्धि गरेका छन् । यसरी कर्जाको व्याजदरमा गरिएको वृद्धि कै आधारमा मुनाफा आर्जन गर्नु दिर्घकालिन अवतरण भने पक्कै होइन । कर्जाको व्याजदरमा भएको वृद्धिले ऋणीहरुलाई थप भार बोकाउँछ, यसरी भार हुँदा कर्जा समयमा नउठ्ने र बैंकहरुको प्रोभिजनिङमा असर पर्ने देखिन्छ । अर्काे तर्फ तलरता अभाव भए पनि बैंकहरुले कर्जा विस्तारलाई भने बढाएको छ । अहिले निक्षेपको तुलनामा कर्जा विस्तार अधिक भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा निक्षेप संकलन ११ प्रतिशतले वृद्धि गरेको वाणिज्य बैंकहरुले कर्जा विस्तार भने १८ प्रतिशतले बढाएको छ । निक्षेप संकलन भन्दा कर्जा विस्तार धेरै गर्दा बैंकको सिसिडि रेसियोमा असर परेको छ । सिसिडिले बैंकले बैंकको कर्जा दिनसक्ने क्षमता वा सिमालाई निर्धारण गर्दछ । अहिले सिसिडि ७९ प्रतिशतसम्म पुगिसकेको छ । राष्ट्र बैंकको अनुसार सिसिडि ८० प्रतिशत हुन पर्दछ । यसरी सिसिडि नियमकिय सिमासम्म आउँदा बैंकहरुको कर्जा विस्तारमा असर पर्छ । जसले गर्दा बैंकहरुले कर्जा विस्तार गर्न नसकिने देखिन्छ ।

कर्जा विस्तारलाई बढाउन बैंकहरुले निक्षेषको अन्य स्रोतहरु खोज आवश्यक रहेको छ । बैंकहरुको निक्षेपको प्रमुख स्रोत विप्रेषणमा कमी आएको छ । यस्तै सरकारले पुँजीगत खर्च गर्न नसक्दा समेत बैंकहरुको निक्षेपमा कमी आएको हो । सरकारी ढुकुटिमा रकम थन्किएर बस्दा बजारमा मुद्रा प्रदायमा कमी आउँछ । यसरी मुद्रा प्रदायमा कमी आउँदा तरलता अभाव हुन जान्छ ।

वाणिज्य बैंकहरुले केन्द्रिय बैंकको निर्देशन अनुसारको चुक्ता पुँजी पुर्याउन प्रयास गर्दै आएको छ । चुक्ता पुँजी वृद्धि गरेसंगै बैंकहरुले आफ्नो कारोबारलाई समेत वृद्धि गर्न आवश्यक रहेको छ । बैंकहरुले आफ्नो कारोबार विस्तारका लागि वित्तीय पहुँच नपुगेको क्षेत्रमा संजाल विस्तार गर्नु पर्नेछ । यस्तै नयाँ क्षेत्रमा कर्जाको विस्तार पनि आवश्यक रहेको छ । जसले गर्दा बैंकहरुको खुद मुनाफा आर्जनमा सकारात्मक असर पर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x