थप ९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २६७
काठमाडौं, २ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण थप ९ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय काठमाडौंको जनस्वास्थ्य प्रयोगशाला, धरानको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगंजको भेरी अस्पतालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग संक्रमितको संख्या २६७ पुगेको छ । जसमध्ये आज उदयपुरका १ जना निको भएर घर फर्किएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ पुगेको छ ।
पछिल्लो समय कोरोना पुष्टि हुनेमा पर्साको बिरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलाा, उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै दाङको गढवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष रहेका छन् भने काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालक रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै हालसम्म पीसीआर प्रविधिबाट २३ हजार ९२३ परिक्षण भएको छ भने आरडीटी प्रविधिबाट ६३ हजार ८५ परिक्षण गरिएको छ ।