Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रेमिट्यान्स र व्यापार घट्यो

रेमिट्यान्स र व्यापार घट्यो

काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) को अवधिमा रेमिट्यान्स र आयात तथा निर्यात व्यापारमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चैत महिना सम्मको आर्थिक र वित्तिय स्थितिसम्बन्धि मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स झण्डै ५ प्रतिशतले घटेको छ । कोभिड–१९ को महामारीका कारण चैत महिनामा रेमिट्यान्स अघिल्ला महिनाहरुको तुलनामा आधाभन्दा बढी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ५ अर्ब ४८ करोड डलर अर्थात् ६ खर्ब २७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । कोभिड–१९ को महामारीका कारण यो वर्ष २० प्रतिशतले रेमिट्यान्स आप्रवाहमा गिरावट आउन सक्ने नेपाल राष्ट्र बैंकको प्रक्षेपण छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस अवधिमा आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले घटेको छ । साउनदेखि चैतसम्म ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १० खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेको थियो । त्यस्तै, निर्यात व्यापार भने झण्डै १३ प्रतिशतले बढेर ७८ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल ६९ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । समीक्षा अवधिमा व्यापार घाटा ८.९ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष ९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको व्यापार घाटा ९ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ । नेपालका मुख्य आयातमध्ये पेट्रोलियम पदार्थको आयात झण्डै १२ प्रतिशतले घटेको छ । नेपालले १ खर्ब ३७ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसअघिको वर्षमा सोही अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको थियो । कुल आयातमा पेट्रोलियमको हिस्सा १४ प्रतिशत छ । त्यस्तै, सवारी साधन ७५ अर्बको आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९२ अर्बको सवारीसाधन आयात भएकोमा १८.६ प्रतिशतले कमी आएको हो । त्यस्तै अघिल्लो वर्षकै हाराहारीमा ५६ अर्ब बराबरको मेसिनरी आयात भएको छ भने रड बनाउन प्रयोग हुने कच्चा वस्तु एमएस बिलेटको आयात ३३.७ प्रतिशतले घटेर ३४ अर्ब ३८ करोडको आयात भएको छ । त्यस्तै, औषधिको आयात ५.८ प्रतिशत २३ अर्ब ८१ करोडको आयात भएको छ । प्रमुख निर्यातमा १६ अर्ब ७८ करोडको पाम तेल, ५ अर्बको कार्पेट, ४ अर्ब ५४ करोडको पोलिष्टर यार्न र धागो, ४ अर्बको जुटका सामग्री र ३ अर्ब ३३ करोडको अलैंची निर्यात भएको छ ।

यो अवधिमा ३६ अर्ब ६१ करोड शोधानान्तर बचत रहेको छ । त्यस्तै, विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४९ करोड अमेरिकी डलर अर्थात् ११ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । जसले आगामी ९.५ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति ६.७४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थको मूल्य अत्याधिक बढेर दोहोरो अंकको नजिक पुगेको छ । खाद्य र पेय समूहको मुद्रास्फिति ९.६८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ४.४८ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x