थप १७ जनामा कोरोना पुष्टि
काठमाडौं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन्। संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् ।
यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन्। संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन्। उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।
मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ४५ जना संक्रमण निको भएर घर फर्किएका छन् ।