Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश १ मा ४० हजारभन्दा बढीको पीसीआर परीक्षण गरिने

प्रदेश १ मा ४० हजारभन्दा बढीको पीसीआर परीक्षण गरिने

विराटनगर, १० जेठ । प्रदेश १ मा ४० हजारभन्दा बढी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रवार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड १९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिक र प्रदेशभित्र कोभिड–१९ संक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक १ हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले जानकारी दिए ।
स्वीकृत कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरूको वर्गीकरण समेत गरेको छ । सम्बन्धित जिल्लाहरूलाई उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको शून्य दशमलव ५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा ४ हजार १ सयभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २ सय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय, कृष्णदास आश्रम वराहक्षेत्रमा २ सय र नेपाली सेनाको ब्यारेक इटहरीमा ५० गरी थप ८५० बेड थपिने भएको छ ।

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्र्ने संयुक्त कार्य योजना समेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा होल्डिङ एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ एरियामा १५ हजार बेड संख्या बनाइने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । हालसम्म यी जिल्लाका १० ठाउँमा ११ सय ३ ओटा बेड बनिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x