Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनको काम तीव्र

कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनको काम तीव्र

काठमाडौँ, ११ जेठ । कोरोनाको सन्त्रास र लकडाउनका बेला पनि कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनको काम तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा उक्त आयोजनाको निर्माण धमाधम भइरहेको राससमा उल्लेख छ ।
दाना र कुश्मास्थित खुर्कोटमा २२०-१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले बताएको छ । दाना—कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
उक्त प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ । हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
कुल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी रहेको बताइएको छ । अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्ेटसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जानकारी दिएको छ ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । कोरिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x