वैशाखमा आयात–निर्यात ६० प्रतिशत घट्यो

काठमाडौं, १३ जेठ । कोभिड–१९ ले अन्तर्राष्ट्रिय व्यापारमा समेत ठूलो प्रभाव पारेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, नेपालको वैदेशिक व्यापार कोरोना भाइरसको महामारी शुरु हुनु अघिका महिनाहरुको तुलनामा वैशाख महिनामा ६० प्रतिशतले कमी आएको हो । लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय सीमा नाकाबाट व्यापार सुचारु राखिएको भए पनि अत्यावश्यक वस्तुबाहेकको आयात उल्लेख्य घटेको देखिन्छ । त्यस्तै लकडाउनका कारण पेट्रोलियम लगायतका वस्तुको उपभोगमा घटेपछि आयात कम भएको भन्सार विभागले जनाएको छ । नेपालको प्रमुख आयातमा पेट्रोलियम पदार्थ, सवारी साधन, मेसिनरी, एमएस बिलेट जस्त वस्तु छन् । लकडाउनका कारण नेपालमा प्रमुख वस्तुहरुकै आयात घटेको छ । औषधीको आयात भने बढाइएको छ । कम आयात भैरहेको छ भने सामान्य अवस्थामा जस्तो तेश्रो मुलुकबाट व्यापार हुन नसकेको भन्सार विभागले उल्लेख गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, वैशाख महिनामा ४२ अर्ब ६० करोड रुपैयाँको आयात भएको छ भने ३ अर्ब २५ करोड रुपैयाँको निर्यात भएको छ । सामान्य अवस्थामा चालु आर्थिक् वर्ष २०७६–७७मा हरेक महिना औसत एक खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो भने ८ अर्ब ७५ करोड रुपैयाँको निकासी भइरहेको थियो । वैशाखमा ६० प्रतिशतले आयात घटेको छ भने निर्यात ६२ प्रतिशतले घटेको छ ।
चालु आवको १० महिना (साउन–वैशाख) मा १० खर्ब २५ अर्ब रुपैयाँको आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले कम हो । त्यस्तै, निर्यात भने गत वर्षको तुलनामा साढे चार प्रतिशतले बढेर मुलुकले ८२ अर्ब ६ करोड आम्दानी भएको छ । गत आर्थिक वर्षको तुलनामा व्यापारघाटा १४.२४ प्रतिशतले घटेर ९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, निर्यात र आयातको अनुपातमा पनि कमी आएको छ । अघिल्लो वर्ष सोही अवधिमा नेपालको आयात निर्यातको १५ गुणा रहेकोमा यस वर्ष १२.५ गुणा रहेको छ । निर्यातमा सामान्य वृद्धि र आयातमा गिरावटले कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको तुलनामा बढेर ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यातको हिस्सा ६.२५ प्रतिशत थियो । त्यस्तै, आयातको हिस्सा ९२.५९ प्रतिशत छ, जुन अघिल्लो वर्ष ९३.७५ प्रतिशत थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *