पर्यटक आगमन वृद्धिदर ३ वर्षयताकै न्यून
काठमाडौं, १४ जेठ । नेपालमा पर्यटन आगमन वृद्धिदर ३ वर्षयताकै कम हुन पुगेको छ । मंगलवार अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६÷७७ ले यस्तो देखाएको हो । सन् २०१९ मा पर्यटक आगमन २ दशमलव १ प्रतिशत मात्र बढ्यो । यो वृद्धिदर २०१८ मा २४ दशमलव ८ र २०१७ मा वृद्धिदर २४ दशमलव ९ प्रतिशत थियो ।
कोरोना संकटले प्रभावित नेपालको पर्यटन उद्योगले चालू आर्थिक वर्ष (आव)मा पूर्वाधार पूर्वाधारका क्षमता भने गत आवको तुलनामा बढाएको छ । आर्थिक सर्वेक्षण अनुसार नेपालमा तारे होटेल, पर्यटक स्तरका होटेल एवं होमस्टेहरूको संख्या र क्षमता बढेको पाइएको छ ।
आव २०७५÷७६ मा १२९ ओटा तारे होटेल रहेकोमा आर्थिक वर्ष २०७६÷७७ मा बढेर १३९ पुगेका छन् । त्यस्तै तारे होटेलमा २ हजारभन्दा बढी बेड थपिएका छन् । सन् २०१९ मा पर्यटकको औसत बसाइ अवधि १३ दिन पुगेको छ । अघिल्लो वर्ष यो १२ दशमलव ४ दिन थियो ।
पर्यटनबाट आव २०७६÷७७ को फागुन मसान्तसम्ममा ५४ अर्ब १० करोड आम्दानी भएको छ । गत आवमा यस्तो आम्दानी रू. ७५ अर्ब ३७ करोड रहेको थियो । पर्यटकीय स्तरका होटेल आव २०७५÷७६ मा १ हजार १२५ रहेकोमा चालू आवमा बढेर १ हजार १५१ पुगेको सवेक्षणले देखाएको छ । त्यस्तै होमस्टेको संख्या बढेर ३८९ पुगेको छ ।
आर्थिक सवेक्षणका अनुसार हालसम्म १९ ओटा वायुसेवा कम्पनीले आन्तरिक एवं ३० ओटा कम्पनीले अन्तरराष्ट्रिय हवाई सेवा दिँदै आएका छन् । यस्तै चालू आवको फागुनसम्म दर्ता भएका विदेशी उद्योगमध्ये पर्यटन क्षेत्रमा १६ प्रतिशत लगानी रहेको छ ।