लकडाउन जेठ ३२ सम्म, अन्तर्राष्ट्रिय सीमा नाका असार १६ सम्म बन्द
काठमाडौं, १८ जेठ । सरकारले जारी लकडाउनलाई जेठभरी लम्ब्याउने भएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ३२ सम्म थप्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताएका छन् । चैत ११ बाट शुरु भएको लकडाउन संक्रमितको संख्या वृद्धिसँगै निरन्तर थप भैसकेको छ । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरुका कारण संक्रमितको संख्या उच्च छ ।
यसैबीच सरकारले खाडी र मलेसियाबाट पनि नेपालीहरुलाई फिर्ता ल्याउने भएको छ । उनीहरुलाई नेपाल ल्याएपछि होल्डिङ स्टेशनमा राखेर सीधै आ–आफ्नो घर क्षेत्रमा पर्ने स्थानीय तहलाई जिम्मा लगाइने भएको छ । नेपाली विमानहरुका अतिरिक्त सम्बन्धित देशका विमान कम्पनीहरुलाई नेपालीको उद्दारका लागि आग्रह गरिने भएको छ ।
त्यस्तै, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनतर्फका अन्तर्राष्ट्रिय सीमा नाका भने आगामी असार १६ अर्थात् जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । दुवै मुलुकका नाकाहरुबाट मानिसहरुको आवागमन बन्द गरिनेछ । भारतबाट फर्किने नेपालीहरुको सीमामा स्वास्थ्यपरिक्षण गरी उनीहरुका सम्बन्धित स्थानीय तहसम्म पु¥याउन भारतबाट नेपाल भित्रने २० ओटा नाका तोकिएका छन् । त्यहाँ स्वास्थ्य परिक्षण डेस्क राखिएको छ । विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टीन र त्यसपछि पनि भौतिक दूरी कायम गर्ने र समाजमा भेटघाट नगर्न र केही समय सचेतना अपनाउन आग्रह गरिएको छ ।