वाणिज्य बैंकहरुको कर्जा प्रवाह खुम्चियो, एक महिनामै १६ अर्बको कमी
काठमाडौं, २२ जेठ । कोरोना महामारी र जारी लकडाउनका कारण औद्योगिक व्यावसायिक गतिविधि प्रभावित हुँदा वाणिज्य बैंकहरूको कर्जा प्रवाह खुम्चिएको छ । नेपाल बैंकर्स संघका अनुुसार २७ वाणिज्य बैंकहरूले वैशाखसम्म २८ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन्, जब कि चैतसम्म कुल २८ खर्ब ४५ अर्ब कर्जा प्रवाह भएको थियो । तर, चैतको तुलनामा वैशाखमा वाणिज्य बैंहरूको कुल कर्जा प्रवाहमा रू. १६ अर्बको कमी आएको छ ।
पुरानो कर्जा फिर्ता आएको र नयाँ कर्जा प्रवाह नभएकाले कुल कर्जा ऋणात्मक बनेको हो । चैतको तुलनामा भने निक्षेप संकलन पनि घटेको छ । चैतमा वाणिज्य बैंकहरूले ४९ अर्ब निक्षेप संकलन गरेका थिए भने वैशाखमा ३० अर्ब मात्र संकलन भएको छ ।
कोरोना संक्रमण र लकडाउनले उद्योग व्यवसाय ठप्प हुँदा यसको नकारात्मक असर समग्र बैंकिङ क्षेत्रमा परेको नेपाल बैंकर्स संघले बताएको छ । लकडाउनका कारण बैंकको लगानी भएका उद्योग, कलकारखानालगायत व्यवसाय सबै मारमा परेको संघका अध्यक्ष भुवनकुमार दाहालको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले रू. ८३ अर्ब निक्षेप संकलन र रू. २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा संकुचन आएपछि तरलता बढेको छ । वैशाख महीनामा बैंकिङ प्रणालीमा औसत रू. ४९ अर्ब २ करोड अधिक तरलता रहेको छ । बजारमा अधिक तरलता प्रशोचन गर्न तथा सरकारको आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले ट्रेजरी बिल, नागरिक बचतपत्र लगायत सरकारी ऋणपत्र जारी गरिरहेको छ ।