कोरोना उपचार र नियन्त्रणमा ९.८७ अर्ब खर्च, प्रत्येक संक्रमितको उपचारमा दैनिक २२ सय खर्च

काठमाडौं, २२ जेठ । सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, जोखिम भत्ता र राहत वितरणमा उक्त रकम रुपैयाँ खर्च भएको विवरण उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको छ ।

उच्चस्तरीय समितिका प्रवक्तासमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । जसमध्ये करिब डेढ अर्ब राहत वितरणमा मात्र खर्च भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरण अनुसार १२ लाख परिवारलाई राहत वितरण गरेको विवरण स्थानीय तहले पठाएका छन् । स्थानीय तहबाट भएको खर्चको यकिन विवरण प्राप्त नभएकाले खर्च अझै बढी पनि भएको हुनसक्ने उनको भनाइ छ । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरूबाट एक अर्ब आठ करोड र स्थानीय तहहरूबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।

१० अर्बमध्ये धेरैजसो स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ । यसका लागि सरकारले स्थापना गरेको कोषमा भने दुई अर्ब ३१ करोड ५५ लाख रुपैयाँ मात्र जम्मा भएको छ । कोरोना भाइरस संक्रमितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको अस्पताल बसाइ सात दिनदेखि ३७ दिनसम्म छ । तर, संक्रमितको औसत अस्पताल बसाइ २० दिन छ । संक्रमितको प्रतिव्यक्ति खर्च दैनिक औसतमा २२ सय रुपैयाँ छ । प्रत्येक दिन खाना, अस्पताल बेड शुल्क, औषधिजन्य वस्तु, आइसियू र भेन्टिलेटर आवश्यक परेमा प्रतिदिन २२ सय रुपैयाँ खर्च हुन्छ । उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा प्रतिव्यक्ति निको हुँदासम्म ४४ हजार रुपैयाँ खर्च हुने गरेको छ । अहिलेसम्म सरकारी अस्पतालमा मात्रै संक्रमितको उपचार हुँदै आएको छ  र निजी अस्पताललाई कोरोना संक्रमितको उपचार अनुमति दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *