Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड–१९ विरुद्धको बीमा स्थगित गर्ने तयारी

कोभिड–१९ विरुद्धको बीमा स्थगित गर्ने तयारी

काठमाडौं, २२ जेठ । संक्रमितको संख्या बढ्दै गएपछि बीमा कम्पनीहरुले कोरोना बीमा धान्न नसकिने नियामक बीमा समितिलाई जानकारी गराएका छन् । बीमा समितिको निर्देशनपछि निर्जीवन बीमा कम्पनीहरुले ५० हजार र एक लाख बीमांकको कोरोना बीमा गर्दै आएका छन् । पीसीआर टेस्ट पोजिटीभ आउनेबित्तिकै बीमा दाबी भुक्तानी दिनुपर्ने व्यवस्था छ । संक्रमितको संख्या बढ्दै गएको तर सरकारबाट भुक्तानी गर्नुपर्ने बीमा दाबीको निश्चित हिस्सा व्यहोर्ने या पुनर्बीमा सम्बन्धि व्यवस्था नहुने हो भने कोरोना बीमालाई निरन्तरता दिन अप्ठेरो रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।
अहिलेसम्म कोरोना बिमा गर्नेको संख्या ३ लाख नाघिसकेको छ, त्यो भनेको ३० अर्बको दायित्व सिर्जना भइसकेको छ । “२० वटा निर्जीवन बिमा कम्पनीको पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरेर ३० अर्ब पुँजी हो,” उनले भने ।
बीमा समितिले वैशाख ४ मा परिपत्रमार्फत् कोभिड–१९ को घातक रोग सरहको बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । एक लाख बीमांकको बीमा गर्दा प्रिमियम (बीमा शुल्क) व्यक्तिको हकमा १ हजार र परिवारको सम्पूर्णको बीमा गर्दा प्रत्येक सदस्यको ६०० रुपैयाँ प्रिमियम कायम गरिएको छ । त्यस्तै, ५० हजार रुपैयाँ बीमांकको बीमा गर्दा भने प्रति व्यक्ति ५०० र सम्पूर्ण परिवारको भए प्रति सदस्य ३०० रुपैयाँ बीमाशुल्क लाग्छ ।
बीमा दाबीका लागि १५ दिनसम्म प्रतिक्षा अवधि रहने र कोरोना भाइरस पुष्टी हुने पोलिमरेज चेन रियाक्सन (पीसीआर) परिक्षण पोजिटीभ भए दाबी योग्य हुने व्यवस्था छ । कोभिड–१९ बीमाको व्यवस्थापन लघु बीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत् गरिएको छ । अब त्यसले धान्ने अवस्था नरहेको समितिका अध्यक्ष चापागाइँ बताउँछन् । यसको बीमा लेख जारी गर्दा कृषि तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लाहरुमा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x