Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउनकै बीच उपत्यकामा खुल्न थाले पसल व्यवसाय

लकडाउनकै बीच उपत्यकामा खुल्न थाले पसल व्यवसाय

बलराम बुढाथोकी

काठमाडौं, २२ जेठ । बुधवार नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका साना, मझौला तथा खुद्रा व्यवसाय र पसलहरू बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गर्यो । सोही अनुरूप बिहीबार बिहान ८ बजेदेखि उपत्यकाका साना खुद्रा पसल पनि सञ्चालनमा आएका छन् । सरकारले जेठ ३२ गतेसम्म लकडाउन गरेको छ । यो समयमा अत्यावश्यक सेवा र अत्यावश्यक खाद्य वस्तु आपूर्ति गर्ने उद्योगहरू मात्र सञ्चालनमा ल्याउनू भनिए पनि लामो समयको लकडाउनले र जीविकोपार्जनमै धौ धौ भएपछि पसल व्यवसाय खोल्नुपरेको व्यवसायीले बताए । यद्यपि सम्भावित संक्रमण हुन नदिन सामाजिक भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरिएको उनीहरूको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नेरश कटुवालका अनुसार सरकारले लकडाउन मात्र बढाइरहेको, तर सर्वसाधारण र व्यवसायीलाई कुनै किसिमको राहात नल्याएकाले आत्मरक्षाका लागि व्यवसाय सुचारु गर्नुपरेको बताए । ‘७२ दिनसम्म घरभित्र थुनिएर बसियो । सरकारले घरभित्र थुनेर राख्नु सिवाय केही गरेन,’ उनले भने, ‘तर हामीले अहिले पनि लकडाउनको उल्लंघन गरेका छैनौं, रोगले भन्दा भोकले मर्ने स्थिति आएपछि बाध्य भएर जीविकोपार्जनको प्रयास गरेका हौं ।’

महँगो बहाल÷भाडा तिर्नुपरेको तर सरकारको तर्फबाट कुनै राहात सुविधा नपाएपछि व्यवसायीको आत्महत्या गर्ने स्थितिमा पुगेको विडम्बना उनले सुनाए । सरकारले उपयुक्त निर्णय नगरेकोले अब सुरक्षा प्रोटोकल कायम गरी पनि आफै सजग भएर व्यवसाय सञ्चालन गर्ने उनले बताए ।

अब क्रमशः पसल व्यवसाय सुचारु गर्नुपर्ने पक्षमा काठमाडौं महानगरपालिका पनि देखिएको छ । सधैं लकडाउन गरिरहँदा सर्वसाधारणको जनजीवन कष्टकर हुनुका साथै अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने भन्दै उपत्यका छिर्ने नाकामा कडा निगरानी राखेर आर्थिक व्यावसायिक गतिविधि सञ्चालन गर्नुपर्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउनेहरूबाट कोरोना संक्रमणको बढी खतरा देखिएको छ,’ उनले भने, ‘त्यसैले अब उपत्यका छिर्ने सबै नाकाहरू सिल गरेर सामाजिक भौतिक दूरी कायम गरी उपत्यकाको आर्थिक गतिविधि चलायमान बनाउनुपर्छ ।’ यसका लागि महानगरले माथिल्लो निकायमा पहल गर्दै छलफल समेत शुरु गरेको प्रवक्ता डंगोलले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले लामो समयसम्म जारी लकडाउनका कारण व्यवसायीले व्यापार व्यवसाय सञ्चालन गर्नु स्वाभाविक भएको बताए । यद्यपि सरकारले जारी लकडाउनको कार्यान्वयन गराउनु प्रहरीको जिम्मेवारी भएकाले प्रहरीले आफ्नो काम गर्ने ज्ञवालीको भनाइ छ । यस्ता व्यवसाय सञ्चालनमा सरकारले निर्णय गरे त्यसमा सघाउन समेत प्रहरी तयार रहेको उनले बताए ।

लकडाउन सहज बनाउने, पसल व्यवसाय सञ्चालन, स्वास्थ्य सुरक्षाका मापदण्ड लगायत विषयमा छलफलका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले महासंघलाई दिउँसो १ बजे बोलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x