लकडाउनकै बीच काठमाडौंका सडक स्तरोन्नति, ४० किमीमा थपियो ‘ओभर ले’
काठमाडौं, २३ जेठ । २ महिनाभन्दा लामो समयदेखि देशमा लकडाउन जारी रहे काठमाडौंका सकड स्तरोन्नति भने सम्पन्न हुने क्रममा छ डिभिजन सडक कार्यालयले नियमित काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।
चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकामा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अब ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले बताएको छ ।
वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ । डिभिजनले लकडाउनको शुरुवाती दिनदेखि नै काम गरिरहेको छ । शुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको डिभिजन कार्यालयले बताएको छ । डिभिजनले जनशक्ति र निर्माण सामग्री सहजरुपमा उपलब्ध नभए पनि निर्माणलाई निरन्तरता दिएको हो ।
चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको छ ।
डिभिजनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ । यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ । गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काममात्रै सकिएको छ ।