चालू आवको १० महिनामा रू. ८१ अर्ब ५५ करोडको थप धितोपत्र सूचीकृत

काठमाडौं, ३ असार । चालू आर्थिक वर्ष (आव)को १० महिनामा ८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आवको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
सूचीकृत उक्त धितोपत्रमा रू. २६ अर्ब २५ करोड बराबरको बोनस शेयर, रू. २१ अर्ब ४६ करोड बराबरको डिबेन्चर, रू. १२ अर्ब १६ करोड बराबरको साधारण शेयर, रू. ५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड, रू. ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरको अन्य छन् ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका उपायहरूका कारण नेपाल स्टक एक्सचेन्जको कारोबार २०७६ चैत १० गते यता बन्द रहेकोमा २०७७ बैशाख ३० र ३१ मा कारोबार खुला गरिएको थियो । २०७६ वैशाख मसान्तमा १३१५.५ विन्दु रहेको नेप्से सूचकांक २०७७ वैशाखमा १२०१.६ विन्दु कायम भएको छ । प्रतिवेदनमा उल्लेख छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९ रहेको थियो ।
२०७७ वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण रू. १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । २०७६ असार मसान्तमा
बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५
रहेको थियो ।