Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

काठमाडौं, ५ असार । जनकपुर जयनगर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनको तयारी गरिएको छ । रेल विभागका अनुसार उक्त खण्डमा रेलमार्ग सञ्चालनको तयारी भइरहेको हो । यसका लागि रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाइएको बताइएको छ ।
चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको छ । कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताएको राससमा उल्लेख छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ ।
बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्र्याक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानीमा निर्माणाधीन सो रेलमार्ग निर्माण नेपाली निर्माण व्यवसायीले नै गरिरहेका छन् । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा निर्माण अघि बढाइएको हो ।
बन्दाबन्दीको समयमा झण्डै चार सय जना निर्माणस्थलमा काम गरेको विभागले जनाएको छ । झण्डै १२ स्थानमा पुल निर्माण भइरहेको छ । कतिपय स्थानमा रूख कटानका काम पनि यो समयमा भइरहेको छ ।
जयनगर–जनकपुर–बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x