Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थतन्त्रलाई उकास्न निजीक्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन : अर्थमन्त्री खतिवडा

अर्थतन्त्रलाई उकास्न निजीक्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन : अर्थमन्त्री खतिवडा

काठमाडौं, ५ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण धराशयी बनेको अर्थतन्त्र उकास्न निजीक्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस् र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो उद्घोष गरेका हुन् । आत्मनिर्भर अर्थतन्त्रमा जाने सरकारको लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक खाँचो समेत उनले औंल्याए । उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको समेत उनले बताए ।
छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने भन्दै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए । ‘श्रम बजारमा टुटेको हाम्रो सम्बन्ध पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ,’ उनले भने, ‘हामी निजीक्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छूटका व्यवस्थाहरु लागू गर्दैछौं ।
मन्त्री खतिवडाले कोरोना संकट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भर पर्ने भन्दै आगामी आर्थिक वर्षको राजस्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजस्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराए । सरकारले आगामी आवका लागि रु १० खर्ब ११ अर्बको राजस्वको लक्ष्यसहित त्यसको २९ दशमलव नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ ।
सभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ८ गते दिउँसो १ बजे बस्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x