Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रसुवागढी नाकाबाट भन्सार राजस्व ठप्प, नाका खोल्ने सहमतिले व्यवसायी उत्साहित

रसुवागढी नाकाबाट भन्सार राजस्व ठप्प, नाका खोल्ने सहमतिले व्यवसायी उत्साहित

काठमाडौं, ७ असार । रसुवा भन्सारबाट आयात निर्यात ठप्प हुँदा विगत ३ महिनाभन्दा लामो समयदेखि भन्सार राजस्व संकलन हुन सकेको छैन । कार्यालयका अनुसार चैतयता राजस्व संकलन शून्य छ । कार्यालयले फागुनमा थोरै राजस्व संकलन गरेको भए पनि त्यसयता नाका बन्द भएकै कारण राजस्व संकलन हुन नसकेको हो ।
भन्सार कार्यालयले जेठ मसान्तसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ७ अर्ब ९८ करोड मात्र राजस्व संकलन भएको छ, जुन पनि चैतअघिकै राजस्व हो ।
कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।
केही दिन अघि मात्र रसुवागढी नाका खोल्न चीन सहमत भएकाले नाका खुल्ने सम्भावना देखिएको छ । दुवै देशका स्थानीय निकायबीच समन्वय गरेर नाका सुचारु गरिने बताइएको छ । केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालको भनाइ छ ।
रसुवागढी नाकाबाट चीनका रेडिमेट लत्ताकपडा, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । नेपालबाट भने बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा लकडाउन अघिसम्म दैनिक २५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x