सुन तोलाको ९१,००० नाघ्यो, किन बढ्दैछ सुनको मूल्य?
काठमाडौं, १० असार । सुनको मूल्य मंगलबारको तुलनामा बुधबार ५०० रुपैयाँ प्रतितोला बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९१,१०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९०,६६५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नु र बजेटमार्फत् सरकारले विलासी वस्तुका रुपमा सुनको भन्सार बढाएकाले नेपाली बजारमा सुन महँगीएको हो ।
कोरोना भाइरस महामारीका कारण लगानीका अन्य आकर्षक साधन नहुँदा सुरक्षित लगानीका रुपमा सुनको माग विश्वभर बढीरहेको छ । दुई ठूला बजारहरु अमेरिका र चीनमा सुनको कारोबारले व्यापकता पाइरहेको छ । अमेरिकामा मंगलबारमात्रै सुनको मूल्य प्रति औंस १ प्रतिशतले बढेर १,७८६.५० डलर प्रतिऔंस मूल्य कायम भएको छ । अमेरिकामा नयाँ घरहरुको कारोबार गत महिना १६.६ प्रतिशतले बढेको छ ।
चीनमा पनि कोरोना भाइरसको दोस्रो लहरको हल्लाले लगानीकर्ताहरु सुनमा लगानी गर्नेतर्फ केन्द्रित भएका छन् । पुँजीबजारमा सम्भावित क्षय हुने अनुमानका कारण पनि लगानीकर्ताहरु सुनको बजारमा आकर्षित भएक छन् । अमेरिकामा पछिल्लो एकसातामा कोरोनाभाइरस संक्रमण ३० प्रतिशतले बढेपछि त्यहाँ मन्दी लम्बिने आशंका बढेर गएको छ । फ्लोरिडामा एकैपटक तीव्र रुपमा संक्रमण बढेको छ । यद्यपि, नर्थ क्यारोलाइना, टेक्सास, एरिजोना लगायतका राज्यमा भने संक्रमण कम देखिन्छ ।
विगतको भन्दा अहिले अर्थतन्त्रको गिरावट निकै तीव्र र डरलाग्दो हुनेछ र यसको पुनरुत्थानका लागि निकै लामो समय लाग्न सक्छ । अमेरिकी अर्थतन्त्र स्न २०२० मा ८ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । आगामी महिनाहरुमा पुनस्र्थापनाको गति हेरेर अहिलेसम्मको क्षति भर्नका लागि कति समय लाग्छ भन्ने यकिन हुने बताइएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर आएको खण्डमा पुनस्र्थापनाको गति निकै धीमा हुने उल्लेख छ ।
फेडरल रिजर्भले गरेको ब्याजदरको कटौती वर्षभरी नै कायम रहन सक्ने आशंकाले पनि लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएका हुन् । ब्याजदर कटौतीको यो निर्णय सन् २०२२ सम्म अर्थतन्त्रलाई स्वस्थ ढंगले पुनरुत्थानका लागि लिइएको विश्लेषण छ । यी कारणहरुले सुनलाई सुरक्षित र फाइदाजनक लगानीको साधन मानेर लगानी गर्नेहरु बढीरहेका छन् ।