Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेशी मुद्रा सञ्चिति ११ अर्ब डलर, अहिलेसम्मकै उच्च

विदेशी मुद्रा सञ्चिति ११ अर्ब डलर, अहिलेसम्मकै उच्च

काठमाडौं, १५ असार । नेपालसँग विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनासम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब अमेरिकी डलर रहेको छ । नेपालीहरुको श्रम गन्तव्यमा र नेपालमा समेत लकडाउनका कारण चैत महिनामा रेमिट्यान्स ३४ अर्ब रुपैयाँमा सीमित हुँदा विदेशी मुद्रा सञ्चितिमा धक्का लाग्ने आँकलन भएपनि वैशाख र जेठमा रेमिट्यान्स क्रमशः ५४ अर्ब र ६४ अर्ब रुपैयाँ भित्रिएको छ । सामान्य अवस्थामा नेपालमा ७४ देखि ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेकोमा जेठ महिनाको अवस्थाले पुनः सुधार हुने क्रम देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
११ महिनाको आयात धान्ने
आयातको चालु आवको प्रवृत्ति अनुसार अहिले उपलब्ध विदेशी मुद्रा सञ्चिति ११ महिनाको आयात धान्न पर्याप्त हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आव २०७६–७७ को ११ महिनामा ११ खर्ब रुपैयाँको आयात भएकाले उपलब्ध सञ्चितिले आयातको अहिलेकै प्रवृत्ति पछ्याउँदा ११ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त हुन्छ भने अघिल्लो आर्थिक वर्षको जस्तो १४ खर्ब रुपैयाँको आयात हुँदा पनि पर्याप्त आयातका लागि विदेशी विनिमय सञ्चिति सहज अवस्थामै रहेको छ ।
आयातको प्रवृत्ति के होला ?
आगामी आर्थिक वर्षमा आयातको प्रवृत्ति के होला भन्ने सम्बन्धमा दुईथरी धारणाहरु छन् । एकथरीले कोभिड–१९ का कारण मानिसहरुको आम्दानी घटेको, बेरोजगारी बढेका कारण मानिसहरुको खर्च क्षमता (पर्चेजिङ पावर) कमजोर भई उपभोग्य ड्युरेबल्सहरुको आयात घट्ने, कोभिड–१९ को असरका कारण आर्थिक गतिविधि आगामी आर्थिक वर्षमा पनि सुस्त हुने धारणा राख्छन् । कोभिड–१९ को असर लम्बिदा यसले आर्थिक गतिविधि सुस्त हुनेमा दुईमत नभएपनि यसको प्रभाव कम भएको खण्डमा आयात वृद्धि हुने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
विकास निर्माणका लागि निर्माण सामग्री, जनजीवन सामान्य भए पेट्रोलियम आयात, उद्योग चलाउन औद्योगिक कच्चा वस्तु र केही उपभोग्य वस्तुको समेत आयात बढ्न सक्ने भएकाले कोभिड–१९ को प्रभाव न्यूनीकरण भइ जनजीवन सामान्य भए आयात बढ्ने र यसले आपूर्ति शृंखला पुनःस्थापित भइ आर्थिक गतिविधिमा टेवा दिने र रोजगारी बढ्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x