Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विदेशी परियोजनासहित उद्योग दर्ता घट्यो

विदेशी परियोजनासहित उद्योग दर्ता घट्यो

बलराम बुढाथोकी
काठमाडौं, २८ असार । गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा विदेशी परियोजनासहित उद्योग दर्ता घट्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र यसको नियन्त्रणका लागि गरिएको लकडाउनको प्रभाव उद्योग दर्तामा पनि देखिएको हो । उद्योग विभागका अनुसार गतवर्ष असार मसान्तसम्ममा २ खर्ब ८५ अर्ब २८ करोड रुपैयाँ लगनीका ४४१ ओटा उद्योग दर्ता भएका थिए । तर, चालू आर्थिक वर्षको असार २२ गतेसम्म १ खर्ब ४६ अर्ब ७० करोड रुपैयाँ लगानीका २७२ ओटा उद्योग विभागमा दर्ता भएका छन् । विभागका सूचना अधिकारी विनोद कुमार खड्काका अनुसार यो वर्ष करिब १०० वटा उद्योग दर्तामा कमी आउने देखिएको हो ।

स्रोत : उद्योग विभाग

त्यस्तै उद्योगसँगै विदेशी परियोजना दर्तामा पनि कमी आएको विभागले बताएको छ । चालू आर्थिक वर्षको असार २१ गतेसम्मको विभागको तथ्यांक अनुसार यो वर्ष ३५ अर्ब ९४ करोड रुपैयाँ लगनीका २१३ वटा विदेशी परियोजना भित्रिएका छन्, जसमा सबैभन्दा बढी पर्यटन व्यवसायसँग सम्बन्धित परियोजना छन् । पर्यटन क्षेत्रमा ९ अर्ब ७१ करोड रुपैयाँका ७५ वटा परियोजना विभागमा दर्ता भएका सूचना अधिकारी खड्काले जनाकारी दिए । यो वर्ष परियोना दर्तामा कमी आए पनि लगानी बढ्ने उनले अर्थको अर्थलाई जानकारी दिए ।

गत आर्थिक वर्षको असार मसान्तसम्म २५ अर्ब ४७ करोड रुपैयाँ लागतका ३४४ वटा परियोजना विभागमा दर्ता भएका थिए । यसले गतवर्षको तुलनामा यो वर्ष विदेशी लगानी करिव ११ अर्बले बढ्ने देखाउँछ । गतवर्ष पनि पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी बढी भित्रिएको थियो । सो वर्ष १० अर्ब ५ करोड रुपैयाँ लागतका १३१ वटा विदेशी परियोजना विभागमा दर्ता भएका थिए ।

स्रोत : उद्योग विभाग

लकडाउन अवधिमा चीनका परियोजना बढी दर्ता
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि गरेको लकडाउनयता ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँका ३६ वटा परियोजनाहरु दर्ता भएका छन् । यीमध्ये चीनका ५ अर्ब ३७ करोड रुपैयाँका २९ वटा परियोजना विभागमा दर्ता भएका छन् । त्यस्तै भारतका १० करोड रुपैयाँका २ वटा परियोजना दर्ता भएका छन् । मलेशियाको ५ करोड लागनीको एउटा, नेदरल्याण्डको १४ करोड रुपैयाँको एउटा, दुबईको २९ करोड रुपैयाँको एउटा र अमेरिकाको १० करोड रुपैयाँको एउटा गरी ३६ वटा परियोजना लकडाउनयता असार २१ गतेसम्म विभागमा दर्ता भएका हुन् ।

त्यसैगरी सबैभन्दा बढी सेवा क्षेत्रसँग सम्बन्धित ३ अर्ब ६५ कराड रुपैयाँका २१ वटा परियोजनाहरु रहेका छन् । ऊर्जा र उत्पादन क्षेत्रसँग सम्बन्धित परियोजना एउटा मात्र रहेको विभागले बताएको छ ।

लकडाउनको समयमा २१ उद्योग दर्ता
गत चैत ११ गतेदेखि असार १८ गतेसम्म ६ अर्ब २४ करोड रुपैयाँका २१ वटा उद्योग दर्ता भएका छन् । सो समयमा उत्पादनमूलक ३७ करोड रुपैयाँका ७ वटा उद्योग दर्ता भएका विभागले जनाएको छ । विभागका अनुसार ७ कारोड रुपैयाँका सेवामूलक ६ वटा, ८ करोड रुपैयाँका पर्यटनसँग सम्बन्धित ५ वटा र ५ करोड रुपैयाँका उर्जामूलक ३ वटा उद्योगहरू दर्ता भएका हुन् । गत वर्षको सोही अवधिमा १ खर्ब ३ अर्ब ४४ करोड रुपैयाँका १०२ वटा उद्योग दर्ता भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x