प्रदेश ५ मा एकै वर्षमा थपिए ८७५ उद्योग
काठमाडौं, ३० असार । चालू आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश ५ मा साना, मझौला तथा लघु उद्योग गरी ८७५ उत्पादनमूलक उद्योग थपिएका छन् । यस्तै कृषि वनजन्य उद्योग २ हजार ७६५, निर्माण उद्योग ४०, पर्यटन उद्योग १ हजार १८५, सेवामूलक उद्योग १ हजार ८०० सय, सञ्चार तथा सूचना प्रविधि उद्योग ५५ गरी छ हजार ६११ उद्योग दर्ता भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश वस्तुस्थिति विवरणअनुसार प्रदेशमा ९ सयभन्दा बढी उद्योग छन् । तीमध्ये एक सय ७८ वटा विदेशी लगानीका छन् । विदेशी लगानीमा एक सय १० साना, ३९ मझौला र २९ ठूला उद्योग रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ठूला उद्योग ३ सय २० वटा छन् । त्यसपछि बाँकेमा एक सय ८५ र कपिलवस्तुमा एक सय १० ठूला उद्योग छन् । त्यसैगरी दाङमा ७८, बर्दियामा ६५, नवलपरासीमा ५३, अर्घाखाँचीमा २२, गुल्मीमा ८ वटा प्युठानमा ३ रुकुम पूर्वमा २, रोल्पामा १ वटा मात्र उद्योग सञ्चालनमा रहेको प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसालले जानकारी दिएकी छिन् ।
यस क्षेत्रका ठूला उद्योगमा मात्रै झण्डै ४५ हजारले रोजगारी पाएको बताइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशमा ठूला उद्योगहरुमा सिमेन्ट, होटल, छड, स्टिल, इँटा, साबुन, कृषि, ऊर्जा, वन पैदावार, खाद्यान्न, प्लाष्टिक, स्टिल रोलिङ, छाला र फलामजन्य छन् । यी बाहेक बिस्कुट, चाउचाउ, जुत्ता ,चप्पल ,औषधी, दाल, मैदालगायतका उद्योग सञ्चालनमा छन् ।