Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सार्वजनिक यातायात सञ्चालनमा आउने क्रम बढ्दै

सार्वजनिक यातायात सञ्चालनमा आउने क्रम बढ्दै

काठमाडौं, ३१ असार । साढे ३ महिनाभन्दा लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवा सञ्चालनमा आउने क्रम पछिल्ला दिनहरूमा बढ्दै गएको छ । सरकारले असार २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर छोटा दूरीमा सार्वजनिक गाडीहरू चल्न दिने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने तत्काल चलाउन नसक्ने बताएका थिए । तर महासंघ इतरका कम्पनीहरूले भने उपत्यकामा थोरै संख्यामा बसहरू चलाउन शुरू गरेका छन् ।
सरकारको उक्त निर्णयपछि आइतवारदेखि मयुर यातायातले सेवा शुरू गरेको थियो । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सेवा सञ्चालनमा ल्याइएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले तत्कालका लागि करीब एक दर्जन बस चक्रपथ र चक्रपथ–भक्तपुर रूटमा चलाएको छ ।
यससँगै अहिले संयुक्त यातायातले पनि बस चलाउन थालेको छ । संयुक्त यातायात, सुन्दर यातायातका बसका साथै अन्य कम्पनीका केही माइक्रोबस र टेम्पोहरूले समेत सेवा शुरू गरेका छन् । सुन्दर यातायातले मंगलवारदेखि ४ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।साझा यातायातले भने साउन १ देखि बस सञ्चालनको तयारी गरिएको बताएको छ । साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको संख्या बढाउने कम्पनीका सीईओ महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । साझाले कोरोना भाइरसको संक्रमणअघि लामो दुरीमा समेत सेवा दिँदै आएको थियो । तर अहिले सरकारले अनुमति दिएका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ ।
यसैगरी काठमाडौं बाहिरका शहरहरूमा पनि फाट्टफुट्ट रूपमा सार्वजनिक गाडीहरू चल्न थालेका छन् । बुटवल, नारायणगढी लगायत शहरूमा न्यून संख्यामा बसहरू चल्न थालेका हुन् ।
सरकारले लकडाउन अवधिमा सेवा दिने सार्वजनिक यातायातले साविकको भाडाको ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था गरिदिएको छ । यस्तै अनिवार्य रूपमा सामाजिक दूरी कायम गर्न, मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x