असार मसान्तसम्ममा मुलुकभर ८२ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं, १ साउन । समयमै मनसुन शुरू भएकाले यस वर्ष बैलैमा धान रोपाइँ सम्पन्न हुने संकेत देखिएको छ । गतवर्षको तुलनामा यस वर्ष धान रोपाइँको प्रतिशत समेत बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सर्वाजनिक गरेको पछिल्लो तथ्यांक अनुसार असार मसान्तसम्ममा देशभर ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको यो अवधिमा ५० प्रतिशत मात्र रोपाइँ भएको थियो ।
वर्षे रोपाइँ हुने देशको कुल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये सो अवधिमा ११ लाख १९ हजार ९१ हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यसै अवधिमा तराईका जिल्लामा सबैभन्दा बढी ८४ प्रतिशत धान रोपाइँ भएको छ भने मध्य र उच्च पहाडमा ७५ प्रतिशत पूरा भएको छ । मन्त्रालयको तथ्यांक अनुसार तराईमा ८ लाख २३ हजार ६८, मध्यपहाडमा २ लाख ५९ हजार ९९६ र उच्च पहाडमा ३६ हजार २७ हेक्टरमा धान रोपाइँ सकिएको छ ।
असार मसान्तसम्ममा बढी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी र प्रदेश नं १ मा सबैभन्दा कम क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । सूदुरपश्चिममा कुल धान रोपाइँ क्षेत्रफलको ९१ दशमलव ८६ प्रतिशत अर्थात् १ लाख ५१ हजार २३७ हेक्टरमा रोपाइँ भएको छ । यसैगरी प्रदेश नं १ मा ७० प्रतिशत (१ लाख ९२ हजार ८८३ हेक्टरमा धान रोपाइँ सकिएको छ । प्रदेश २ मा ८३ प्रतिशत (३ लाख चार हजार ९७८ हेक्टर), बागमती प्रदेशमा ७२ प्रतिशत (८३ हजार १२३ हेक्टर, गण्डकी प्रदेशमा ८४ प्रतिशत (९० हजार ६ सय १६ हेक्टर, प्रदेश नं ५ मा ८७ प्रतिशत (२ लाख ६२ हजार ९२२ हेक्टर र कर्णाली प्रदेशमा ८७ प्रतिशत (२ लाख ३३ हजार २३२ हेक्टरमा रोपाइँ सकिएको छ ।