कोभिड–१९ महामारी र अर्थतन्त्रको पुनरुत्थान
- हृदयराज गौतम
कोरोना भाइरसको महामारीले मानव जीवनमा ठूलो संकट सिर्जना गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटिरेजले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संकट निम्तिएको र संयुक्त राष्ट्र संघको स्थापनापछि मानव समुदायले सामना गर्नुपरेको सबैभन्दा गम्भीर चुनौतीका रुपमा व्याख्या गरेका छन् । सन् २०२० को शुरुवातदेखि वर्षको मध्यसम्म आइपुग्दा पनि यो महामारी नियन्त्रणका लागि चिकित्सकीय समाधान फेला पर्न सकेको छैन ।
गैर–चिकित्सकीय विधिहरु, भौतिक दूरी, सजगता, बन्दाबन्दीजस्ता उपायले यसलाई न्यूनीकरण गर्ने प्रयास भैरहेको छ । कतिपय राष्ट्रमा यसको दोस्रो लहर देखापर्न सक्ने अनुमान समेत गरिएको छ । अहिले तयारी भैरहे अनुसार खोपको अनुसन्धान र विकासमा सक्रिय चीन, बेलायत र अमेरिकी कम्पनीहरुले छिट्टै सुखद नतिजा दिने उल्लेख गरिरहेका छन् । सेप्टेम्बर देखि नोभेम्बरसम्म खोपको व्यावसायिक उत्पादन हुनसक्ने अहिले भइरहेका परिक्षणका आधारमा अनुमान भैरहेका छन् ।
कोरोना भाइरसबाट विश्वभर १४ करोड ४२ लाख मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् । यी मध्ये ८६ लाख १२ हजार निको भए भने ६ लाख चार हजार मानिसहरुको मृत्य भैसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार पाँच सय दुई पुगेको छ । अहिलेसम्म ११ हजार ६ सय ३७ जना निको भए भने ४० जनाको मृत्यु भैसकेको छ । कोरोना भाइरसको महामारीबाट मानिसले जीवन गुमाइरहेका छन् । चीनको वुहानमा गत वर्ष नोभेम्बरको अन्त्यतिरबाट भाइरल ज्वरो, खोकीका कारण मानिसहरुमा गम्भीर निमोनियाको लक्षण देखिन शुरु गरेपछि चीनले विश्व स्वास्थ्य संगठनलाई डिसेम्बर महिनाको अन्त्यतिर यसबारेमा जानकारी गराएको थियो । बिस्तारै यो भाइरसका संक्रमितहरु चीन बाहिरपनि देखिन थाले र सबैभन्दा बढी संक्रमित युरोपका इटली, स्पेन र फ्रान्समा देखिए । त्यसपछि संयुक्त राज्य अमेरिका, रुस, ब्राजिल र हाम्रो दक्षिणी छिमेकी भारतमा संक्रमितहरुको संख्यामा तीव्र वृद्धि हुन थालेको हो । खासगरी भारतमा रहेका नेपालीहरु नेपाल फर्कने क्रम बाक्लिएपछि नेपालमा पनि कोभिड–१९ संक्रमितहरुको संख्या ह्वात्तै बढेको हो । नेपालमा अहिलेसम्म समुदायमा संक्रमण नदेखिएकाले यसलाई नियन्त्रणका लागि भौतिक दूरी, सजगता अपनाउने, सुरक्षा उपकरणहरुको प्रयोग र अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल भेटघाटलाई निरुत्साहीत नै गरिएको छ ।
कोभिड–१९ को संकट र विश्व अर्थतन्त्रमा उत्पन्न प्रभाव दोस्रो विश्व युद्ध यताकै ठूलो क्षति हो । दोस्रो विश्वयुद्धको समयमा अर्थतन्त्र यति विकसित भैसकेका थिएनन्, मानव विकासको अवस्था कमजोर थियो । आजको आधुनिक विश्वजगत्मा कोभिड–१९ ले सिर्जना गरेको असर भयावह छ । विश्व अर्थतन्त्र सन् २०२० मा ४.९ प्रतिशतले खुम्चिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अनुमान गरेको छ । कोभिड–१९ को महामारी शुरु हुनुअघि विश्व अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो । सन् २०१९ मा ८६,५९८.८३ अर्ब अमेरिकी डलरको छ, सन् २०२० मा यो आकार ४.९ प्रतिशतले घट्ने आँकलन गरिएको छ । आइएमएफका अनुसार, सन् २०२० र २०२१ मा ९,००० अर्ब (९० खर्ब) अमेरिकी डलरको क्षति हुनेछ । जुन जापान र जर्मनीको संयुक्त अर्थतन्त्र भन्दा पनि ठूलो हो । विश्वको तेश्रो र चौथो ठूलो अर्थतन्त्रको आकारभन्दा ठूलो क्षति विश्व अर्थतन्त्रले व्यहोर्नुपर्नेछ । आइएमएफले अप्रिलदेखि जुन महिनासम्म भाइरसको संक्रमण फैलन नदिन लकडाउनका उपाय अबलम्बनमा कडाइँ भैरहेकाले यो अवधिमा अर्थतन्त्रको विस्तार सबैभन्दा कमजोर हुने उल्लेख गरेको छ । एसियाली विकास बैंकले जुन महिनासम्म विश्व अर्थतन्त्रमा ५८ खर्ब डलर र त्यसपछि अर्को तीन महिना पनि आर्थिक गतिविधि सुचारु हुन सकेन भने ८८ खर्ब अमेरिकी डलर क्षति हुने अनुमान गरेको छ ।
विश्वभर नै ठूलो संख्यामा रोजगारी गुम्ने चिन्ताले सबैलाई पिरोलेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले विश्वका १.६ अर्ब श्रम शक्ति कोभिड–१९ का कारण रोजगारी गुमाउनसक्ने उल्लेख गरेको छ । जसका कारण सबैभन्दा प्रभावित अन्तर्राष्ट्रिय उडान कम्पनीहरुले समेत चालक दललाई अत्यावश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर उडान समेत सञ्चालन गर्ने तयारी गरिरहेका छन् । स्वास्थ्य मापदण्ड र अत्यावश्यक पूर्व तयारीले कार्यस्थल र यात्रामा संक्रमणको जोखिम कम गर्न सकिने विश्वास लिइएको छ । कोरोना भाइरस विरुद्धको खोप र औषधी परिक्षणकै क्रममा रहेकाले महामारी तत्काल अन्त्य हुने सम्भावना नरहेकाले संक्रमणबाट जोगिएर आर्थिक गतिविधि सञ्चालन गर्नु नै बुद्धिमानी हुने आम बुझाइ छ । लकडाउनलाई स्वास्थ्यसम्बन्धि सुरक्षा मापदण्डको पूर्वतयारीका रुपमा लिनुपर्नेमा नेपालले भने त्यी तयारी पुरा गर्न सकेन ।
कोरोना भाइरसको संक्रमणका कारण धेरैले जीवन गुमाएको छन् । सबै जीवन अमूल्य छन् । मानवीय क्षतिको कुनै मापन हुन सक्दैन तर अर्थतन्त्रको क्षति भने मापनयोग्य हुन्छ । संक्रमण फैलन नदिन अझै पनि धेरै देशहरुले लकडाउन गरिरहेका छन् । नेपालले चैत ११ पछि १०० दिन लकडाउनपछि असार महिनादेखि मानिसहरुको भीडभाड हुनसक्ने क्षेत्रबाहेक अन्य क्षेत्र क्रमशः खुला भइरहेका छन् । सुरक्षा मापदण्डसहित सार्वजनिक यातायातमा लहरै प्रत्येक सीटमा एक जनामात्र मान्छे राखेर सञ्चालन गर्न सरकारले अनुमति दिए पनि सेवा प्रदायक तयार भएका छैनन् । विद्यालय, पार्टी प्यालेस, होटल, सभा सम्मेलन केन्द्र, सिनेमा हल, स्वीमिङ पुल आदि सेवाहरु बन्द नै छन् । यद्यपि कोरोना संक्रमणको दर ह्वात्तै बढ्न सक्ने भएकाले सजगता अपनाउन सरकारले आह्वान गरिरहेको छ । विश्वका धेरैजसो देशले स्वास्थ्यसम्बन्धि मापदण्ड (प्रोटोकल) सहित कार्यस्थलमा सुरक्षा अपनाएर अर्थतन्त्र सुचारु गर्नपट्टी लागेका छन् ।
नेपालमा सरकारकै प्रारम्भिक अनुमान अनुसार नेपाली अर्थतन्त्रमा कोभिड–१९ का कारण झण्डै ४ खर्ब रुपैयाँको क्षति भैसकेको छ । नेपालमा दैनिक करिब १० अर्ब रुपैयाँको उत्पादन तथा व्यापार हुने गरेकोमा तीन महिनाभन्दा लामो लकडाउनभरी यो दुई –तीन अर्बमा सीमित रह्यो । केन्द्रीय तथ्यांक विभागले लकडाउन गर्नुपर्ने अवधि वैशाखबाट अन्त्यभई जेठबाट पूर्ववत् आर्थिक गतिविधि सुचारु गर्दा अर्थतन्त्र अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्ष २०७६–७७ मा तीन खर्ब ९ अर्बले विस्तार भई ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको थियो । लकडाउन लम्ब्याउनु परेकाले गत आर्थिक वर्ष २०७६–७७ मा नेपाली अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुनसक्ने आँकलन गरिएको छ ।
लकडाउन अघि र पछिको सरकारको राजस्व संकलनले यसलाई पुष्टी गर्छ । लकडाउनअघि दैनिक औसत २ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा लकडाउनपछि दैनिक राजस्व संकलन औसत ७५ करोड रुपैयाँ हाराहारीमा रहेको थियो । असारमा आर्थिक गतिविधि आंशिक खुला गरेपछि सरकारले गत आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैँयाको राजस्व संकलनको लक्ष्य मध्ये ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
लकडाउनका क्रममा राजस्व संकलनमा कमी आएर सरकारलाई अनिवार्य दायित्वका खर्च चलाउन समस्या भैसकेको थिया । चैतमा तिर्नुपर्ने कर असार मसान्तमा तिरे हुने व्यवस्था गरिएकाले पनि सरकारको राजस्व संकलनमा उल्लेख्य कमी आएको हो । कोभिड–१९ को महामारी लम्बिदैं गएको खण्डमा या विश्वव्यापी दोस्रो लहर आएको खण्डमा अर्थतन्त्रमा थप संकट गहिरिनेछ । आर्थिक संकट गहिरिंदै जाँदा रोजगारी, माग र उत्पादनमा कमी आउँछ । विद्यमान अवस्थामा पनि दैनिक अत्यावश्यक वस्तु तथा सेवाहरु र औषधीउपचार बाहेक अन्य क्षेत्रमा मानिसहरुको खर्च घटेको छ ।
महामारीका कारण पर्यटकको आवागमन बन्द भएपछि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । महामारीका कारण क्रमशः संगठीत अर्थात् औपचारिक क्षेत्रमा पनि असर देखिन थालिसकेको छ । साना मझौला उद्यम (एसएमईज्) हरुमा पनि उत्पादन र मागमा कमी आएको छ । ठूला उद्योग या प्रशोधन उद्योगको आपूर्ति शृंखलामा गाँसिएका साना मझौला उद्यमको पनि आपूर्ति सञ्जाल भत्किन लागेको छ । एसएमईज् ले २० प्रतिशत रोजगारी सिर्जना गरेका छन् । अनौपचारिक (असंगठीत) क्षेत्रमा २० लाख मानिसहरुले रोजगारी गुमाइसकेका छन् भने औपचारिक क्षेत्रमै १२ लाख मानिसले रोजगारी गुमाउन सक्ने आँकलन गरिएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका झण्डै ६ लाख नेपालीले रोजगारी गुमाएर मुलुक फर्कनुपर्ने अस्वथा आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द नै रहेकाले पनि अहिले ठूलो संख्यामा मानिसहरु मुलुकमा फर्केका छैनन् । अर्थतन्त्रको मुख्य टेको मानिएको रेमिट्यान्स आप्रवाह चैतको तुलनामा वैशाखमा आंशिक र जेठमा उल्लेख्य सुधार भएको देखिन्छ । तर मुलुकभित्र एकसाथ ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएसँगै आगामी दिनमा बजारमा माग अझै घट्न जाने देखिन्छ । सामान्य अवस्थामा मासिक औसत ७४ अर्ब रुपैयाँ भित्रिने गरेकोमा चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँमात्र रेमिट्यान्स भित्रिएको छ, वैशाखमा ५४ अर्ब रुपैँया र जेठमा उल्लेख्य वृद्धि भइ ९४ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६–७७ मा २० प्रतिशतले रेमिट्यान्स आप्रवाहमा कमी आउने अनुमान गरेपनि त्यो अवस्था रहेन, जुन सुखद् पक्ष हो । रेमिट्यान्समा आश्रित हाम्रो अर्थव्यवस्थामा रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा सञ्चितिमा ठूलो धक्का लाग्न सक्छ । जसले आयातको भुक्तानी फछ्र्यौट र साँवाब्याज भुक्तानीमा समेत असर पार्नेछ ।
कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पर्नेछ । महामारी अन्त्य भएपछि अन्य क्षेत्र क्रमशः पुनर्स्थापना हुने भएपनि पर्यटन क्षेत्रमा भने दीर्घकालीन प्रभाव कायम रहनेछ । पर्यटन क्षेत्र यो वर्ष १६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ । ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाउने भएपछि मुलुकमा गरिबी निवारण चुनौतीपूर्ण बन्नेछ भने आर्थिक–सामाजिक समस्याहरुम बढोत्तरी हुनेछ ।
नेपाली अर्थतन्त्रमा यसअघि पनि भूकम्प, नाकाबन्दी, १८ घण्टासम्मको लोडसेडिङ, श्रम समस्या जस्ता यावत् समस्या भोगेको हो । कोभिड–१९ को महामारी चाँडै समाधान भए हाम्रो अर्थतन्त्रको उत्थानशील क्षमता पुनः प्रदर्शित हुने अपेक्षा गर्न सकिन्छ । बाह्य क्षेत्र सन्तुलन, राजस्व, रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति जस्ता सूचक हेर्दा नेपाली अर्थतन्त्र चाँडै पुनरुत्थान हुन सक्छ । तर कोभिड–१९ महामारीको विश्वव्यापी दोस्रो लहर आएको खण्डमा त्यसले निकै दर्दनाक अवस्था सिर्जना गर्नसक्छ ।
नेपालले कम्तीमा अब स्वास्थ्य मापदण्ड, अत्यावश्यक सेवा, ढुवानी सेवा सञ्चालकलाई पीपीई (व्यक्तिगत सुरक्षा उपकरण) सहित आन्तरिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने, सरकारले विकास निर्माणका कामलाई गति दिनुपर्ने आवाज निजी क्षेत्रले उठाउँदै आएको छ । सजग भएर सुरक्षा मापदण्डसहित आर्थिक गतिविधि सुचारु गरेर नयाँ अवस्थाको सामान्य परिवेशमा आर्थिक गतिविधि सञ्चालनले हाम्रो अर्थतन्त्रको पुनरुत्थान छिटो हुनेछ ।