झण्डै आधाले घट्यो उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता
काठमाडौं, ५ साउन । कोरोना महामारीको प्रभावका कारण गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धतामा झण्डै आधाले घटेको छ ।
गत आवको असार मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले उद्योग क्षेत्रमा गर्ने लगानी प्रतिबद्धतामा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा १ खर्ब ३० अर्ब ७२ करोड ७० लाख कमी आएको छ , जब कि अघिल्लो आवको सोही समयमा २ खर्ब ८३ अर्ब ३५ करोड २० लाख लगानी प्रतिबद्धता आएको थियो । प्रतिशतको आधारमा गतवर्ष उद्योग क्षेत्रको लगानी प्रतिबद्धतामा ४६ प्रतिशत ह्रास आएको छ ।
उद्योग विभागका अनुसार गत आवको असार मसान्तसम्म दुई सय ७७ वटा उद्योग स्थापना गर्नका लागि सो प्रतिबद्धता प्राप्त भएको हो । त्यसैगरी अघिल्लो आवमा ४३९ वटा उद्योग स्थापनाका लागि लगनी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मा स्वदेशी तथा विदेशी लगानीकर्ताले सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा र सबैभन्दा कम कृषि क्षेत्रमा गरेको विभागले बताएको छ ।
विभागका अनुसार उनीहरुले ऊर्जा उद्योगमा एक खर्ब २० करोड १७ लाख र कृषि तथा वन पैदावरमा १ अर्ब १२ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता बमोजिम काम भएमा कृषिमा ३८१ जना, ऊर्जामा २ हजार ६०२, सूचना प्रविधिमा १ हजार ७८१, उत्पादनमा ४ हजार ९५६, सेवामा ३ हजार ७४७ र पर्यटनमा ४६३ जना गरी कुल १७ हजार ३८८ जनाले रोजगारी पाउने बताइएको छ ।