नेपालमा फस्टाउँदै अर्थोडक्स चियाको खेती, बार्षिक ५ हजार मेट्रिक टन निर्यात
काठमाडौं, २८ माघ । नेपालबाट निर्यात हुने मुख्य कृषि उत्पादन मध्ये अर्थोडक्स चिया पनि एक हो । सरकारी तथ्यांक अनुसार हाल झन्डै १६ हजार हेक्टर क्षेत्रफलमा यो खेती भइरहेको छ भने वार्षिक ५ हजार मेट्रिक टन भन्दा बढी चिया विदेश निर्यात हुने गरेको छ।
अर्थोडक्स चियाको निर्यातमा बृद्धि हुन थालेसँगै यस क्षेत्रमा लाग्नेहरुको संख्या पनि बढ्न थालेको छ । विगतमा नेपालका पूर्व इलाम, ताप्लेजुङ, पाँचथर लगायत जिल्लाहरु चिया उत्पादनका लागि प्रख्यात भएपनि पछिल्लो समय कास्की, दोलखा, तनहु, नुवाकोट लगायतका अन्य जिल्लाहरुमा पनि व्यवसायीक खेती सुरु भएको छ । एक तथ्यांक अनुसार सम्म ८ हजार भन्दा बढी कृषक व्यवसायीक रुपमा अर्थोडक्स चियाको खेतीमा लागेका छन् ।
तर यस खेतीलाई प्रवद्र्धन गर्न सरकारले विभिन्न सहुलियतको घोषणा गरेपनि त्यो घोषणा मै मात्र सिमित भएको कृषकहरुको गुनासो छ । इलाम टि एन्ड कोसेली हाउसका संचालक दिकम्बर नेम्वाङल सरकारले घोषणा गरेको कुनै पनि सेवा–सुविधा आफुहरुले नपाएको गुनासो गरे । त्यस्तै स्पेसालिटि टि एसोसिएसन अफ नेपालका अध्यक्ष राजु शेर्मा लिम्बुले पनि सरकारी दिने भनेको सहुलियत ऋण लगायतका अन्य सुविधा मन्त्री र सरकारी कर्मचारीका आसेपासेले मात्र पाउने गरेको आरोप लगाए । उनले चियाको निर्यात प्रवद्र्धनका लागि २ प्रतिशत निर्यात प्रोत्साहन रकम लिन पनि निकै झन्झटीलो भएको भन्दै सरकारले कृषकलाई प्रोत्साहन भन्दा पनि हतोत्साही बनाउने काम गरेको बताए ।
किसानहरुले सरकारी सहुलियतलाई सहजता बनाउन र निर्यातका लागि नयाँ नयाँ गन्तव्यको खोजी गर्न सरकारसँग माग गरेका छन् ।