सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प, करोडौंका सामान रोकिए
सिन्धुपाल्चोक, ९ साउन । बाढीपहिरोका कारण कटान भएको सडक मर्मत नहुँदा तातोपानी नाकाबा आयात ठप्प भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । सडक सञ्चालनमा नआउँदा आयात भइसकेका करोडौं मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले हाल नाकाबाट आयात ठप्प रहेको बताएको राससमा उल्लेख छ । उनका अनुसार नाका ठप्प हुँदा झण्डै रु. ६ करोडको सामग्री रोकिएका छन् । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान रहेको बताइएको छ ।
केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ । सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताएका छन् । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले नै स्काभेटर प्रयोग गरिरहेका छन् ।