Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अतिराजनीतिकरणले थलिएको महासंघ भ्रष्टाचारमा पनि तानियो, अख्तियारले पत्र काट्यो

अतिराजनीतिकरणले थलिएको महासंघ भ्रष्टाचारमा पनि तानियो, अख्तियारले पत्र काट्यो

काठमाडौं, १३ साउन । देशका उद्यमी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अतिराजनीतिकरणसँगै अब भ्रष्टाचारमा पनि तानिएको छ । गर्विलो इतिहास बोकेको महासंघ नेतृत्वको लछाचुडी, अतिराजनीतिकरण र भ्रष्टाचारका कारण पतनोन्मुख हुँदै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई सरकार र महासंघ मिलेर सञ्चालन गरेको कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै पत्र काटेको हो । हाल महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको र सो विषयमा छानविन भैरहेको र कतिपय प्रमाणहरु अस्पष्ट भएका हुँदा त्यसलाई थप स्पष्ट पार्न अख्तियारले आग्रह गरेको छ । महासंघ अध्यक्ष भवानी राणाले महासंघ भित्र ठूलो रकम हिनामिना गरेको आरोप लाग्दै आएको थियो । सोही आरोपमा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र अध्यक्ष राणाबीच असमञ्जस्यता पैदा भइ उनलाई राणाले कारबाही गरी हटाएकी थिइन् ।
देशमा उद्यम, व्यवसायको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महासंघ आफैं राजनीतिकरण र भ्रष्टाचारले थलिएको छ । विगत ९ बर्ष देखि महासंघ अध्यक्ष राणा सभापति भएर सम्हाल्दै आएको कृषि उद्यम केन्द्रमा ठूलो रकम आर्थिक हिनामिना भएको भन्दै २०७५ पुसमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले महासंघको फाइल मगाएर अनुसन्धान गर्दा खर्च विवरणको विल भौचर नरहेको, खर्च गरेको आधार नभेटिएको तथा काटिएको विल भौचर पनि प्रस्ट नभएकाले थप कागजात सहित एक हप्ताभित्र उपलब्ध गराउन भनेको छ ।
अख्तियारले कृषि मन्त्रालय र महासंघ अन्तरगतको कृषि उद्यम केन्द्रद्वारा संयुक्त रुपमा संचालित एक जिल्ला एक उत्पादन अन्तरगतका विभिन्न ४ ओटा आयोजनाहरुको खर्च विवरण पारदर्शी नभएको भन्दै अभियोजन गर्ने मनसाय राखेको छ । आयोगले प्युठानको स्वर्गद्वारी सिड कम्पनी, इलामको एग्री टेक, रसुवाको रसुवागढी एग्रोटेक र रौतहतको माछा तथा दाना उद्योगको हरहिसाव पारदर्शी नभएको भन्दै थप कागजात पेश गर्न निर्देशन दिएको हो । साथै ती उद्योगहरुमा किसानले व्यहोर्ने कम स्पष्ट देखिने र हालसम्म भएको खर्च विवरणको अन्तिम लेखापरिक्षण प्रतिवेदन समेत बुझाउन निर्देशन दिएको हो । यस अघि पनि नेपाल सरकारका पूर्व सचिव तथा महासंघका तत्कालिन महानिर्देशक (महासचिव) सुरेशमान श्रेष्ठले आफ्नो ११ पेज लामो राजीनामा पत्रमा महासंघ अध्यक्ष भवानी राणाले पदाधिकारी तथा सचिवालयका उच्च नेतृत्वसँग सल्लाह नै नगरी आफुखुशी ठूलो रकम खर्च गर्दै हिनामिना गरेको, समिति नै गठन नगरी आफुखुशी संस्था संचालन गरेको, सचिवालयको मुख्य जिम्मेवारी पाएको आफुसँग कुनै सल्लाह नै नगरी तल्लो तहका कर्मचारीको तजविजीमा संस्था संचालन गरेको, कृषि उद्यम केन्द्रको रकम हिनामिना गरी भ्रष्टाचार गरेर महासंघको ठूलो रकम दुरुपयोग गरेको आरोप लगाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x