सञ्चालनको तयारीमा पोखराका पर्यटकीय होटल
पोखरा, १३ साउन । सरकारले साउन १५ देखि होटल सञ्चालनकाका लागि अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी यसको तयारीमा लागेका छन् । करिब ४ महिना लामो लकडाउनपछि होटल व्यवसाय खोल्ने सरकारको निर्णयसँगै यस क्षेत्रका सम्बद्ध व्यवसायीले होटल सञ्चालनको आन्तरिक तयारी थालेको पश्चिमाञ्चल होटल संघले बताएको छ ।
लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्षलाई प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्व तयारी गरिएको संघले बताएको छ । पोखरामा करिब ७०० पर्यटकीय होटल रहेको र तीमध्ये संघमा आबद्ध ४०० होटललाई सञ्चालनको तयारीमा जुट्न भनिएको संघका अध्यक्ष विकल तुलाचनले बताएको राससमा उल्लेख छ । अहिले ‘अफ सिजन’ भएकाले अक्टोबर नोभेम्बर पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले साउन १५ गतेदेखि होटल सञ्चालन भन्दा पनि सञ्चालनको पूर्व तयारीमा जुट्ने बताए । पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धनलगायतका विषयमा केन्द्रित रहने उनले जानकारी दिए ।
उपाध्यक्ष भट्टराईका अनुसार पोखरामा होटल तथा रिसोर्ट ७०० रहेको त्यसमा होटल तथा रिसोर्टको आफ्नै लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब छ भने १२ हजार २९८ ले रोजगारी पाएका छन् । त्यसैगरी रेष्टुरेन्ट तथा बारमा १ अर्ब आफ्नो लगानी र ३ अर्ब बैंकको लगानी रहेको छ भने १ हजार ५०० ले रोजगारी पाएको उनले बताएका छन् ।