सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, बुधवार तोलाकै रू. १ लाख १ हजार नाघ्यो
काठमाडौं, २१ साउन । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मका सबै रेडर्क तोड्दै रू. १ लाख माथि टेकेको छ । विगत २ हप्तादेखि नै नियमित बढ्दै गएको यो पहेँलो धातुको मूल्यले बुधवार हालसम्मकै उच्च रेकर्ड राखेको हो ।
यस दिन छापावाल सुन अघिल्लो दिन तुलनामा १ हजार ६ सय बढेर प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य पनि मंगलवारको तुलनामा १ हजार ५३५ रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० कायम भएको छ ।
बुधवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा यो धातुको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।
दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुनुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिइएको छ । कोरोना भाइरसले गर्दा सुन उत्पादनमा कमी आएको र लगानीकर्ता लगानी सुरक्षित गर्न सुनमा लगानी गर्न आकर्षित भएकाले विश्व बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । ‘कामदारको अभावमा सुनको उत्पादनमा कमी आएको छ ।’ उनले भने, ‘सीमित उत्पादनमा असीमित लगानीकर्ता आकर्षित भएकाले सुनको मूल्य आकाशिएको हो ।’