Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंमा निश्चित गतिविधिमा निषेधको आदेश, केही जिल्लामा आवधिक निषेधाज्ञा र लकडाउन

काठमाडौंमा निश्चित गतिविधिमा निषेधको आदेश, केही जिल्लामा आवधिक निषेधाज्ञा र लकडाउन

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले आज (शनिवार)देखि लागू हुनेगरी विभिन्न गतिविधिमा निषेध गरेको छ भने उपत्यका बाहिरका कतिपय जिल्लामा आवधिक निषेधाज्ञा र लकडाउनको समेत लागू गरिएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका हुन् । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारबाही गरिने उल्लेख छ ।
खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा भनिएको छ । यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ ।
फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको जारी आदेशमा उल्लेख छ । शनिवार मध्यरातदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहनेछ ।
यसैबीच, बढ्दो संक्रमण रोकथामका लागि विभिन्न जिल्ला र नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनद्वारा भरतपुर महानगरपालिका क्षेत्रभित्र ७ दिन पूर्णरूपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सहितको आकस्मिक बैठकले शुक्रवारदेखि नै लागु हुनेगरी भदौ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यस्तै कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दोलखामा लकडाउनको गर्ने निर्णय गरिएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले आज बिहानदेखि लागू हुनेगरी भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
यस्तै कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा आवतजावत तथा व्यवसाय सञ्चालनमा पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि एक हप्ता सेवा बन्द गर्ने भएको छ । नगरपालिका मातहतका सबै कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको हो । शुक्रवार (साउन ३०)देखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x